• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाब संकलन गर्ने


काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाब संकलन गर्ने

मंसिर–४, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वाब संकलन गर्नका लागि आइतबारदेखि मोबाइल भ्यान संचालनमा ल्याउने भएको छ । सरकारले निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरेसँगै जनतामा स्वास्थ्यको पहुँच पु¥याउन मोबाइल भ्यान संचालनमा ल्याउन लागेको महानगरपालिकाले जनाएको छ ।

संक्रमितले परीक्षण गर्न अस्पताल, एम्बुलेन्स नपाउने समस्याको समाधानका निम्ति सो भ्यान ल्याउने तयारी भएको काठमाडौं महानगरपालिका जनस्वाथ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले तयार गरेको उपकरण जडित मोबाइल भ्यानले स्वाब संकलन गर्ने व्यवस्था गरेको हो । कुँवरका अनुसार आइतबारबाट सो भ्यानले स्वाब संकलन गर्नेछ । कामपाले सवारी साधन उपलब्ध गराएपछि त्यसमा नास्टले प्रविधि प्रयोग गरेको हो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका अशक्त, वृद्धवृद्धा बिरामीलाई मोबाइल भ्यानबाट स्वाब लिइने व्यवस्था गरिनेछ । भ्यानमा स्वाब संकलन गर्न केही स्वाथ्यकर्मी रहनेछन् । उनीहरूले भ्यान मार्फत घरघरमै पुगेर स्वाब संकलन गर्नेछन् । कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका बिरामीको पहिलो परीक्षण नगरपालिकाले गर्नेछ भने दोस्रो पटक व्यक्ति आफैँले गर्नुपर्नेछ ।

सुरक्षित र भरपर्दो प्रविधि प्रयोग गरी भ्यान तयार पारिएको कामपाका जनस्वाथ्य विभाग प्रमुख कुँवरले बताए । उनले भने, ‘नास्टले विशेष प्रविधि प्रयोग गरी तयार गरेको सो भ्यान विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार भएको हो ।’

नेपालमा सो प्रविधि र उपकरण जडान गरी स्वाब संकलन गर्न भ्यान बनाउने अधिकार नास्टलाई मात्र भएको उनको भनाइ छ । झन्डै एक लाख संक्रमित रहेको उपत्यकामा कामपाले मोबाइल भ्यानबाट स्वाब संकलन कार्य सुरु गर्न लागेको हो । यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही अस्पतालले आफ्नै मोबाइल भ्यानबाट स्वाब संकलन गरिरहेका थिए ।

कामपा र नास्टबीच मोबाइल भ्यान निर्माण गर्ने दुई पक्षीय सहमति भएपछि महानगर क्षेत्रमा अशक्तलाई भ्यानमार्फत स्वाब संकलन गर्न लागेको हो । भ्यान तयार गर्न करिब पाँच लाख रुपैयाँ खर्च लागेको कामपाको भनाइ छ ।

उता, उपत्यकाका काठमाडौं र ललितपुर महानगरले कोरोना परीक्षणलाई तीब्रता दिने तयारी गरेका छन् । दुवै महानगरले लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्ने तयारी गरेका हुन् ।

परीक्षणको संख्या घटाइएका कारण उपत्यकामा संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । सरकारले ५० जना संक्रमितको मात्र परीक्षण गर्न निर्देशन दिएको थियो । दैनिक झन्डै ५०० को हाराहारीमा परीक्षण हुने महानगरमा ५० जनाको मात्र परीक्षण गर्नुपर्ने भएपछि कामपा पछि हटेको थियो ।

तर, पुनः परीक्षण संख्या बढाउने विषयमा सहमति भएपछि कामपाले परीक्षणको संख्या बढाउन लागेको हो । कामपा जनस्वास्थ्य विभाग प्रमुख कँुवरले अब परीक्षणको दर बढाउने तयारी भइरहेको बताए । काठमाडौंमा झन्डै ३५ हजार संक्रमित रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर ४, २०७७, बिहीवार ०८:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८