• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

कालिकाको सिन्ती झरनामा आन्तरि पर्यटक बढे, एक करोडको बजेटलाई ब्यबस्थीत गरिदै

  • खबरदाता

कालिकाको सिन्ती झरनामा आन्तरि पर्यटक बढे, एक करोडको बजेटलाई ब्यबस्थीत गरिदै

 

कार्तिक -१६ ,२०७७
चितवन । कोभिड (१९ पछीको लामो लकडाउन र त्रासका कारण घरमै सीमित हुनु परेकाहरु अहिले भने नजिक रहेका पर्यटकीय क्षेत्रहरुमा गएर आनन्द लिन थालेका छन् ।

त्यसै मध्येको चितवनको कालिका नगरपालिका ९ र १० मा अवस्थित सिम्ती झरनामा आन्तरिक पर्यटकको घुइचो लागेको छ । दैनिक ५ सय जना सम्म झरनामा पुग्ने गरेको कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले बताएका छन ।

दशै पछिका दिनमा आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् । पूर्व पश्चिम राजमार्गको टाँडी बजारबाट १८ किलोमिटरको दुरीमा रहेको सो स्थानमा सजिलै पुग्न सकिने भएकाले पनि आन्तरिक पर्यटकको भिड लागेको हो।

चितवनका विभिन्न ठाउँ र नवलपुर ,नवलपरासी लगायतका जिल्लाबाट मानिसहरु झरनामा रमाउन पुग्ने गरेका छन् । नव विवाहित जोडि देखि प्रेमप्रेमिका र परिवारकै सदस्यहरु मिलेर झरना पुग्ने गरेको स्थानियहरु बताउँछन ।

कोरोनाको त्रासका कारण महिनौं घरमै बसेर दिक्क भएकाहरु रमणीय वातावरणमा रमाउन सिन्ती झरना पुग्ने गरेका छन् । खैरहनीबाट आइतवार सिन्ती झरना अबलोकन गर्न पुगेकि शर्मिला वाग्लेले झरनाले अनुपम अनुभूति प्रदान गर्ने बताइन । घरमा बस्दा बस्दै दिक्क भएर झरना आएको र धेरै रमाइलो भएको समेत उनले बताइन् । झरना अबलोकनको लागि बच्चा देखि बृद्धा सम्म आउने गरेका छन ।

झरना अवलोकनका लागि पुग्नेहरुका कारण बाटोमा रहेका पसल संचालक पनि दंग छन् भने होटल रेष्टुरेण्टहरुले पनि राम्रो आम्दानी गरेका छन् । लकडाउनका कारण थला परेको त्यहाँको व्यवसाय विस्तारै उठ्न थालेको छ । लकडाउन अघि ज्याला मजदुरीमा काम गर्ने लक्ष्मण प्रजा अहिले परिवारका सदस्यसँग मिलेर पसल संचालन गरिरहेका छन । उनको पसलमा आन्तरिक पर्यटकको भीड छ । आम्दानी वढिरहेको छ । पसल संचालन गरेको एक महिना पुग्न लागेको र प्रति दिन १ हजार ५ सय सम्म आम्दनी हुन थालेको उनले बताए ।

झरनामा आउने पर्यटकलाई थप सुविधा उपलब्ध गराउन नगरपालिकाले पूर्वाधार निर्माणको कार्य थालनी गरेको छ । नगरप्रमुख श्रेष्ठले सिन्ती झरना नगरपालिकाको गहना भएको र वाह्य पर्यटकलाई समेत ल्याउनका लागि गत आर्थिक वर्षबाट झरना व्यवस्थित गराउन काम सुरु भएको बताए ।

पूर्वाधार निर्माण कार्य अन्तर्गत अहिले विभिन्न ठाउँमा शौचालय र कपडा परिवर्तन गर्ने घर निर्माण अन्तिम चरणमा पुगेका छन् । नगरपालिकाको ५० लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ५० लाख गरी १ करोडको लागतमा पूर्वाधारको निर्माण कार्य भइरहेको मेयर श्रेष्ठले भनाइ छ । सिम्ती खोलामा आर्क व्रिज सहित धेरै ठाउँमा पौडी खेल्ने ठाउँ बनाउने र साँढे २ किलोमिटर पैदल मार्गको रुपमा विकास गर्ने उनको भनाई छ ।

 

सिराइचुली र उपरदाङगढीको आधार क्षेत्रमा रहेको सिन्ती झरनाले पर्यटकको बसाइ लम्ब्याउन सक्ने सम्भावना नगरपालिकाले देखेको छ । झरना नजिकै पर्यटकीय होटलहरु सञ्चालन गरेर एक रात पर्यटकलाई झरनामै राख्ने दीर्घकालिन योजना रहेको नगरपालिकाका इन्जिनियर राजेश कोइरालाले बताए । चेपाङको बस्ति रहेको उक्त ठाउँमा होमस्टे संचालन गर्न सकिने सम्भावनालाई ध्यान दिएर डिपिआर नै बनाएर काम अघि वढाउने नगरपालिकाको तयारी छ ।

अहिले शौचालय , खानेपानी, विद्युत, मोवाइलको टावर र फोहोर व्यवस्थापनमा समस्या रहेको छ । निशुल्क झरनामा पुग्न सकिने भएपनि अव डिपिआर सहित काम भएपछि शुल्क सहित अहिले रहेका समस्याको समाधान गरी झरनालाई आकर्षण गराउने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७७, आइतवार ०५:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८