• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दुवै खेलको नतिजा सुपर ओभरमा

  • खवरदाता

दुवै खेलको नतिजा सुपर ओभरमा

कार्तिक–३, २०७७

इन्डियन प्रीमीयर लिग (आइपिएल)को आइतबार भएका दुवै खेलको नतिजाको टुङ्गो सुपर ओभरमा लागेको छ । किङ्स पन्जाब ११ ले लगातार मुम्बई इन्डियन्सको विजयी अभियानलाई रोकेको हो भने कलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई हरायो ।

मुम्बईले छाडेको १७७ रनको लक्ष्य पछ्याएको पन्जाबले ६ विकेटको क्षतीमा १७६ रन जोडे पछि खेल सुपर ओभरमा पुगेको थियो । ट्रेन्ट बोल्टको अन्तिम बलमा दुई रन चाहिएको समयमा योर्कर बललाई बिस्तारै धकेलेका क्रिस जोर्डन सिधा नदौडिएर घुमाउरो दौडिए पछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा मुम्बईका जसप्रित बुमराह पन्जाबलाई ५ रनमा रोके । पन्जाबका बलर मोहम्मद सामीले पनि लगातार योर्कर फ्याँक्दै क्वीन्टन डी कक र रोहित शर्मालाई ५ रनमा रोके पछि दोस्रो सुपर ओभरमा खेल पुगेको थियो । दोस्रो सुपर ओभरमा क्रिस जोर्डनको विरुद्धमा किरोन पोलार्ड र हार्दिक पाण्डेले ११ रन बनाए ।

अन्तिम बलमा पोलार्डको निश्चित झैँ रहेको छक्का मायंक अग्रवालले नाटकीय पाराले सीमा रेखा बाहिरबाट भित्र फ्याके पछि थप चार रन जोगिएको थियो । यस पछि बोल्टलाई क्रीस गेलले पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बलमा १ रन लिए । यस पछि अग्रवालले लगातार दुई चौका प्रहार गरे पछि पन्जाब नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । मुम्बईले यस अघि लगातार ५ खेलमा जित हात पारेको थियो ।

खेलमा पन्जाबका कप्तान लोकेश राहुलले अर्को अर्धसत्तक प्रहार गरे । १८ औ ओभरमा पाँचौँ विकेटको रूपमा जसप्रीत बुमराह बाट बोल्ड हुनु अघि उनले ५१ बलमा ७७ रन जोडे । यस क्रममा उनले सात चौका र तिन छक्का प्रहार गरे ।

सुरुवात देखि आक्रामक रहेको पन्जाबका अग्रवाल १० बलमा ११ रन बनाएर बुमराहको बलमा आउट भए पनि क्रिस गेलले २१ बलमा २४ तथा निकोलास पूरणले १२ बलमा २४ रन जोडे । पूरण पनि बुमराहकै बलमा आउट भए । बुमराहले ४ ओभरमा २४ रन खर्चेर तिन विकेट लिए । पन्जाबका दीपक होड्डा १६ बलमा २३ रन रन बनाउँदै अविजित रहे भने जोर्डनले ८ बलमा १३ रन बनाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पनि ६ विकेटको क्षतीमा १७६ रन जोडेको थियो । सुरुवातमा पन्जाब हाबी भए पनि अन्त्यमा किरोन पोलर्डले १२ बलमा ३४ तथा कुल्टर नाइनले १२ बलमा २४ रन बनाउँदै अविजित रहे । पन्जाबले पहिलो ३ विकेट ३८ रनमा गुमाए पछि क्वीन्टन डि ककले ५३ रन बनाए । राहुल खेलका म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा १६४ रनको लक्ष्य पाएको हैदराबादले उत्कृष्ट सुरुवात गरे पनि पहिलो खेल खेलिरहेका लुक्की फर्गुसनले सानदार बलिङ गरे पछि कलकत्ता पनि सुपर ओभरमा खेल जित्न सफल भयो । सुपर ओभरमा फर्गुसनको पहिलो बलमा डेभिड वार्नरलाई बोल्ड गरे भने दोस्रो बलमा अब्दुल समादले दुई रन लिए । अर्को बलमा फर्गुसनले समादलाई बोल्ड गरे । सुपर ओभरमा रसिद खानले दिनेश कार्तिक र इयान मोगार्नलाई ३ रन लिन रोक्न सकेनन् ।

केन विलिम्सन र जोनी वारिस्टले पहिलो विकेटका लागि ६ ओभरमा ५८ रनको साझेदारी गरे पछि बलियो अवस्थामा रहेको हैदराबादलाई फर्गुसनले रोके । उनले पहिलो १९ बलमा २९ रन जोडेको केन विलिम्सनलाई आउट गरे । अर्को ओभरमा प्रियम गर्गलाई बोल्ड गरे । १२ औ ओभर पुरा हुँदा तेस्रो ओभर सकेका फर्गुसनले मनिस पाण्डेलाई ६ रनमा बोल्ड गरे ।

हैदरावादका डेभिड वार्नर ३३ बलमा ४७ रन बनाउँदै अविजित रहे पछि सो टोलीले ६ विकेटको क्षतीमा १६३ बनायो । अन्तिम ओभरमा हैदरावादका लागि खेल जित्न १८ रन आवश्यक थियो । घाइते आन्द्रे रसेललाई वार्नरले लगातार तिन चौका प्रहार गरेका थिए । अन्तिम दुई बलमा भने रसेल तिन रन मात्र दिन सफल रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको सुभमन गीलले ढिला खेल्दै ३७ बलमा ३६ रन बनाए । इयान मोर्गानले २३ बलमा ३४ तथा कार्तिकले १४ बलमा २९ रन जोडे । ४ ओभरमा १५ रन खर्चिँदै तिन विकेट लिएका फर्गुसन खेलका म्यान अफ द म्याच भए ।

नौ खेल सकिदा मुम्बई १२ अङ्क सहित दोस्रो स्थानमा छ भने कलकत्ता १० अङ्क सहित चौथो स्थानमा छ । ६ अङ्क भएका हैदराबाद र पन्जाब पाँचौँ र छैटौँ स्थानमा छन् ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७७, सोमवार ०२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८