• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

भिलियर्सले जिताए बैंगलोरलाई

  • संबाददाता

भिलियर्सले जिताए बैंगलोरलाई

आश्विन–१३,२०७७

इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटको सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । २० ओभरमा दुवै टोलीले २०१ रन बनाएको खेलको सुपर ओभरमा भने बैंगलोरले आठ रनको लक्ष्य पाएको थियो ।

पहिलो दुई बलमा दुई रननै जोडे पनि तेस्रो बलमा जस प्रीत बुमरहाले एबी डी भिलियर्सलाई रन लिन बाट रोकेका थिए । चौथो बलमा बाउन्सरमा हुक गर्दै चार रन बटुले पछि अन्तिम दुई बलमा दुई रन आवश्यक थियो । बुमराहले योर्कर फ्याके पछि भिलियर्सले बल रोकेर चलाखीपूर्ण एक रन जोडे । अन्तिम बलमा रन लिन रोक्न सबै फील्डर नजिकिए पनि विराट कोहलीले चौका प्रहार गरे ।

२०२ रनको लक्ष्य पाएको मुम्बईले बराबरी गरे पछि सुपर ओभरमा नवदीप सैनीले उत्कृष्ट बलिङ गरे । पोलार्ड र हार्दिक पाण्डेलाई सुरुमा एक एक रनमा मात्र लिन दिएका उनले तेस्रो बलमा रन लिन बाट रोके । चौथो बलमा फेरी मिसफील्डका कारण चौका भए पनि पाँचौँ बलमा पोलार्ड आउट भए । अन्तिम बल रोक्दै पाण्डेले छिटो दौडेर एक रन लिएका थिए ।

हारको नजिक पुगी सकेको मुम्बई इन्डियन्स बराबरीमा पुग्नुमा इसन किसन र किरोन पोलर्डको सानदार ब्याटिङको साथमा बैंगलोरले गरेको मिसफील्ड पनि कारण बनेको थियो । किसनले दुई चौका र नौ छक्काको सहयोगमा ५८ बलमा ९९ रन प्रहार गरे । यसै गरी पोलार्डले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन जोडे ।

अन्तिम चार ओभरमा ८० रन आवश्यक रहेका समयमा पोलार्ड र किसनले एडम जम्पाको ओभरमा २७ तथा युजवेन्द्र चावलको ओभरमा २२ रन प्रहार गरे । यस बिचमा पोलार्डको दुई र किसनको एउटा क्याच छुटेको थियो । यस पछि १९ औ ओभरमा सैनीले १२ रन मात्र खर्चे । अन्तिम ओभरमा १९ रन जितको लागि चाहिएको समयमा इसुरु उदानाले सुरुको दुई बलमा दुई रन मात्र दिए पनि त्यस पछि किसनले दुई छक्का प्रहार गरे । अर्को बलमा उनी आउट भए भने अन्तिम पोलार्डले चौका प्रहार गर्दै खेल बराबरीमा पुगेको थियो ।

यस अघि डेल स्टेन र उमेश यादवलाई बेन्चमा राखेको बैंगलोरले पहिलो पावर प्लेमा उदाना र वासिंगटन सुन्दरबाट खेलको सुरुवात गरेको थियो । सुन्दरले पावर प्लेका चार मध्य तीन ओभर बलिङ गरेर रोहित शर्माको विकेट समेत लिए । चार ओभरको कोटामा उनले १२ रन मात्र खर्चे । सुरुवात देखि नै दबाब सहेको मुम्बईले ६.४ ओभरका ३९ रन जोड्दै तिन शीर्ष ब्याट्सम्यान गुमाएको थियो । पछि सम्हालिँदै मुम्बईले पाँच विकेटको क्षतीमा २०० रनको आँकडा पार गर्न सफल भयो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले तिन विकेटको क्षतीमा २०१ रन नै तयार गरेको हो । बैंगलोरका एरोन फिन्च र देवदत्त पाणीकलले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे । फिन्च ३५ बलमा ५२ रन प्रहार गर्दै आउट भए पछि कोहली पनि लामो समय टिकेनन् । ११ बलको सामना गरेका उनी तीन रनमै आउट भए पनि डी भिलियर्सले खेललाई टोलीको पक्षमा मोडेका थिए । भिलियर्सले २४ बलमा चार चौका र चार छक्काको सहयोगमा अविजित ५५ रन जोडे । उनी म्यान अफ द म्याच पनि घोषित भए । पाणीकल ४० बलमा ५४ रन जोडेर आउट भए पछिको खेलमा शिवं दुवेले १० बलमा २७ रन जोडे ।

अङ्क तालीकामा बैंगलोर चार अङ्क सहित तेस्रो तथा मुम्बई दुई अङ्क सहित पाँचौँ स्थानमा छन् ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार ०१:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८