नारायण दाहाल / अश्विन–९,२०७७
राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीसँग गरिएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
साथै डा.केसीको जीवन रक्षाको लागि संवेदनशील बन्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग राखी जुम्लामा गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा.केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै आयोगले यस प्रकरणको निरन्तर अनुगमन गरिरहेको छ ।
स्वास्थ्य अवस्था बिग्रिँदै गएकोले अनसनको नवौं दिन डा. केसीलाई नेपालगञ्ज हुँदै काठामाडौं ल्याइएको छ ।
प्रहरीले ट्रमा सेन्टरमा लगिए पनि उनी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको आयोगले जनाएको छ ।
यसैक्रममा डा.केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेका छन् ।
चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा.केसीसँग सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुप्रति गम्भीर हुँदै जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न आयोगले ध्यानाकर्षण गराएको छ ।
साथै, आपसी विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोग आग्रह गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८