• मंसिर ६, २०८३, आइतवार Sunday, 22 November, 2026

प्रधानमन्त्री बालेन आज भारत जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका

  • खबरदाता

प्रधानमन्त्री बालेन आज भारत जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार (मंसिर ६) भारत भ्रमणमा जाँदै छन् । बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन् ।

नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ सदस्य रहनेछन् । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार, दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्ली पुग्नेछन् । त्यस दिन साँझ ६ बजे उनले होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ ।

सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम छ । त्यसपछि उनी श्रद्धाञ्जली अर्पण गर्न राजघाट पुग्नेछन् । राजघाटको कार्यक्रमपछि शाह र मोदीबीच भेटवार्ता हुनेछ ।

सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ ।

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ । त्यस कार्यक्रमबाट नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु पनि बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् ।

त्यसपछि अपराह्न ४ बजेर ५० मिनेटमा उनी नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।

  • प्रकाशित मिति : मंसिर ६, २०८३, आइतवार ०७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८