• कात्तिक २३, २०८३, सोमवार Monday, 09 November, 2026

चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा

  • खबरदाता

चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौ गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को शीर्षस्थानमा उक्लिएको छ।

सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौँ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। शीर्षस्थानमा उक्लिएसँगै काठमाडौँको प्लेअफ सम्भावना मजबुत बनेको छ।

पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार चौथो खेलमा जित निकाल्दै आठ अंक जोडेको छ। काठमाडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा कर्णालीलाई चार विकेटले हराएको काठमाडौंले तेस्रो खेलमा विराटनगर किंग्सलाई नौ विकेटले हराएको थियो। चौथो खेलमा लुम्बिनीलाई ३६ रनले पाखा लगाएको थियो।

यता काठमाडौंसँग पराजित भएपछि चितवनले दोस्रो स्थानमा उक्लिने मौका गुमायो। समान दुई खेलमा जित र हारको नतिजा निकालेको चितवनले लुम्बिनी लायन्ससँग भने वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो।

चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई आठ रनले हराएको थियो। सुदूरपश्चिमसँग भने पाँच विकेटले पराजित हुँदा पोखरालाई ३० रनले हराएको थियो।

सोमबार साँझ काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७० रन मात्र बनाउन सक्यो।

चितवनलाई अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा सात रन मात्र बनायो। अन्तिम ओभरको दोस्रो बलमा रवि बोपारा ५५ रनमा करण केसीको बलमा भीम सार्कीको हातबाट क्याच आउट भएपछि खेल काठमाडौंको पक्षमा पुग्यो।

चितवनका लागि रवि बोपाराले अर्धशतक पूरा गरे पनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए।

डान मुस्लेले २९, ओपनर कमिल मिसाराले २८ र अर्जुन साउद २४ रन बनाउँदै पेभेलियन फर्के। कुशल मल्लले १३ रन थपे।

काठमाडौंका लागि सहानले दुई विकेट लिँदा जहानदाद खान, करण केसी, सन्तोष यादव र गणेश गौतमले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८० रनको योगफल तयार पारेको थियो।

३।२ ओभरमै दुई विकेट गुमाएर दबाबमा आएको काठमाडौंको पारी विलियम बसिस्टो र रासिद खानले सम्हालेका थिए। उनीहरूले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। विलियम २२ बलमा एक छक्का सहयोगमा २७ रन बनाउँदै पेभेलियन फर्के।

त्यसपछि चौथो विकेटका लागि रासिद र सहानले ५३ रनको साझेदारी गरेपछि काठमाडौ विशाल लक्ष्यतर्फ अघि बढेको थियो।

रासिदले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ३० बलमा दुई चौका र चार छक्का सहयोगमा ५२ रन बनाए।

सहानले २० बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३३ रन बनाउँदा क्याच आउट भए। कप्तान करण केसी सात बलमा तीन छक्काको सहयोगमा २० रन बनाउँदा एलबीडब्लुको धरापमा परे।

साहिल पटेल आठ र आदिल आलम नौ रनमा आउट भए। ६ बलको सामना गरेका डेविड वार्नर एक रनमा बोल्ड आउट भए।

चितवनका लागि रिजन ढकालले तीन तथा सिकन्दर राजा र कमल ऐरीले समान दुई विकेट लिए। डान मुस्लीले एक विकेट आफ्नो नाममा गरे। रन्जित कुमार, कुशल मल्ल, मौसम ढकाल र रवि वोपारा विकेटविहीन रहे।

  • प्रकाशित मिति : कात्तिक २३, २०८३, सोमवार २०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८