• कात्तिक २३, २०८३, सोमवार Monday, 09 November, 2026

तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • खबरदाता

तिहारको चौथो दिन गाईपूजा गरिँदै

काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदै छ ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ।

धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा।डा। रामचन्द्र गौतमले बताए ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । रासस

  • प्रकाशित मिति : कात्तिक २३, २०८३, सोमवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८