• भदौ १७, २०८३, बुधवार Wednesday, 02 September, 2026

भोटेकोशी बाढी: पोखरामा २१ शवको सनाखत

  • रासस

भोटेकोशी बाढी: पोखरामा २१ शवको सनाखत

कास्की । रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा अझै पाँच शव रहेका छन् । ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ । “लामो समय शव गृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो । सबै शवको डिएनए लिएका छौँ । परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने ।

धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो । शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिई माटोले पुरिएको छ । शव पुरिसकेपछि गमला राखेर शवको सङ्केत नम्बरको ‘स्ट्यान्ड’ बनाइएको छ ।

  • प्रकाशित मिति : भदौ १७, २०८३, बुधवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८