• भदौ १२, २०८३, शुक्रवार Friday, 28 August, 2026

नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

  • खबरदाता

नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् ।

उनले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राखेको जानकारी दिए ।

कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । सो क्रममा उनले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भएको बताए ।

रसुवामा पनि सेवा पुनःस्थापनाको प्रयास भइरहेको जानकारी दिए ।

“अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ । ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ”, मन्त्री श्रेष्ठले भने ।

प्राधिकरणका अनुसार बुधबार साँझ विद्युतको उच्चतम माग दुई हजार ९३९ मेगावाट रहेकामा बिहीबार साँझ दुई हजार ८९१ मेगावाटमात्रै रहेको थियो । त्यसमध्ये काठमाडौं उपत्यकाको माग बिहीबार ५७८ मेगावाट र बुधबार ५९० मेगावाट रहेको थियो ।

प्राधिकरणका अनुसार बुधबार ६२ मेगावाट र बिहीबार दुई मेगावाटमात्र विद्युत् आयात गरिएको थियो ।

उनका अनुसार प्राधिकरणले वैकल्पिक स्रोतबाट नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट र बालाजु–त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् पठाइएको छ । रासस

  • प्रकाशित मिति : भदौ १२, २०८३, शुक्रवार ०६:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८