• साउन ३१, २०८३, आइतवार Sunday, 16 August, 2026

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

  • खबरदाता

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीको आइतबार बिहान ५ बजेको तथ्यांकअनुसार, विभिन्न सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् ।

चितवनस्थित पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति १०:२५ बजे चितवनको इच्छाकामना गाउँपालिका-५, सिमलधारास्थित पृथ्वीराजमार्ग (सडक बिस्तार भइ रहेको स्थानमा) सडक माथिबाट रूखसहितको सुखा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

रोल्पाको भालुवाङ-लिवाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति ९:१५ मा सुनिलस्मृति गाउँपालिका-४ कागडाँडास्थित भालुबाङ-लिबाङ सडकखण्डमा पहिरो आइ बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

संखुवासभाको सिरेक डाँडास्थित कोसी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार रातिको वर्षाको कारण भोटखोला गाउँपालिका-३ सिरेकडाँडा स्थित कोसी राजमार्ग सडक खण्डअन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डमा अन्दाजी १० मिटर सडक भासिएर पूर्ण रुपमा अवरोध भएको हो ।

शनिबार नै पहिरो जाँदा बेसिशहर-मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । राति अन्दाजी साढे १० बजे मर्स्याङदी गाउँपालिका-४ मा पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

शनिबार सडक माथिबाट ढुंगासहितको लेदो खस्दा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । राति ८:३० बजे थासाङ गाउँपालिका-४ कैकु खोलास्थित बेनी-जोमसोम सडक खण्डमा ढुंगासहितको लेदो पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

प्रहरीले बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसीमा बेलुका १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।

मकवानपुर कान्ति लोकपथ वर्षातको कारण सबै किसिमका सवारी साधनहरूको रातिको समयमा आवतजावत रोक लगाइएको छ । सो सडकमा बेलुका १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सवारीसाधनको आवतजावत रोक लगाइएको छ ।

इलामको राजदुवाली स्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको (उक्त स्थानमा अर्को कल्पिक बाटो रहेको) छ ।

सिन्धुपाल्चोक अरनिको राजमार्गस्थित भोटेकोशी-२ कोदारी स्थित अरनिको राजमार्गमा ईकु पहिरो तथा लिपिङस्थित अरनिको राजमार्गमा सडक भासिई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवा पासाङ ल्हामु सडक खण्ड, रुकुमपश्चिमस्थित भेरी करिडोर पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : साउन ३१, २०८३, आइतवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८