• असार १९, २०८३, शुक्रवार Friday, 03 July, 2026

मनसुन झन् सक्रिय, कस्तो रहला आज मौसम ?

  • खबरदाता

मनसुन झन् सक्रिय, कस्तो रहला आज मौसम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ ।

यस्तै दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।

यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

यसैगरी, असार २० गते शनिबार पनि मौसममा खासै सुधार आउने देखिँदैन। शनिबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने तथा तराईमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ। सो दिन पनि देशका विभिन्न स्थानमा मध्यम वर्षा र हिमपातको क्रम जारी रहनेछ। शनिबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम पूर्णतया बदली हुनेछ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

  • प्रकाशित मिति : असार १९, २०८३, शुक्रवार ०५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८