• वैशाख १६, २०८३, बुधवार Wednesday, 29 April, 2026

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • खबरदाता

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

सर्वोंच्च अदालतले कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो।

उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ताहरू प्रकाश रेग्मीले बुधबार बहस गरेका थिए।

त्यस्तै नायवमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका थिए।

सर्वोच्चले यस मुद्दाको पेसी भोलि बिहीबारका लागि तोकेको छ।

‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा उल्लेख छ ।

खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो।

  • प्रकाशित मिति : वैशाख २, २०८३, बुधवार १६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८