विराटनगर । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ ।
सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ । चार जना सांसद पाउने भएपछि हर्क साम्पाङ नेतृत्वको पार्टी आन्तरिक विवादमा फसेको थियो ।
विवादका बीचमा समानुपातिक सांसदहरूको टुङ्गो लागेको श्रम संस्कृति पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईले जानकारी दिइन् । उनका अनुसार सो पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागेको छ ।
यस अघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिक तर्फबाट कसलाई प्रतिनिधिसभामा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद देखिएको थियो । सोही विवादका कारण खस आर्य अन्तरगत पहिलो नम्बरमा रहेका जीवन विष्टले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको बताएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८