काठमाडौं । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताएका छन् । उनले मतदान प्रक्रिया सम्पन्न गर्न जनशक्ति परिचालन, सुरक्षा व्यवस्था र अन्तरनिकाय समन्वय लगायतका सबै तयारी पूरा भएको समेत बताए ।
सचिव राउतका अनुसार, निर्वाचन सम्पन्न गर्न करिब दुई लाख १५ हजार कर्मचारी तथा झन्डै साढे तीन लाख सुरक्षाकर्मी देशभर परिचालित छन् । उनले हालसम्मको सुरक्षा विश्लेषणअनुसार कुनै पनि मतदान केन्द्रमा असहज अवस्था सिर्जना हुने संकेत नदेखिएको उल्लेख गरे ।
आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत सबै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको भन्दै उनले केन्द्रले देशभरको सुरक्षा अवस्थाको निगरानी गर्दै आवश्यक निर्देशन तथा सहकार्य गर्ने बताए ।
शान्तिपूर्ण रूपमा देशभर नै निर्वाचन सम्पन्न हुनेमा निर्वाचन आयोग विश्वस्त रहेको छ । दुई लाख १५ हजार निर्वाचनसँग सम्बन्धित कर्मचारीहरू र करिब साढे तीन लाख सुरक्षाकर्मीहरू देशभर परिचालित हुनुहुन्छ । र अहिलेसम्मको सुरक्षा विश्लेषण हेर्दाखेरी कुनै पनि मतदान केन्द्रमा असहज अवस्था सिर्जना नहुने भएको छ, उनले भने ।
नेपाल सरकार, सुरक्षा निकाय, प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आयोग दृढ रहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८