दमक । झापा क्षेत्र नम्बर–५ मा आसन्न निर्वाचनलक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । यो क्षेत्रलाई ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिँदै आएको छ ।
यो क्षेत्रमा नेपाल प्रहरीका पाँच डीएसपी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकबाट यो क्षेत्रमा नयाँ र पुराना दलबीच द्वन्द्व हुन सक्ने चुनौती आकलन गरिएको थियो ।
झापा–५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लगायत उमेदवार छन् । सम्भावित सुरक्षा चुनौती मध्यनजर गरेर पाँच डीएसपी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा–५ अन्तर्गत इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी छ । गौरीगन्जमा प्रहरी निरीक्षक छन् । तर, गृह मन्त्रालयले थप चार डीएसपी पठाएको जनाइएको छ ।
झापा–५ को प्रत्येक पालिकामा एक/एक डीएसपीको ‘कमान्ड’मा प्रहरी परिचालन गरिएको छ । गौरीगन्ज, गौरादह र कमल गाउँपालिकामा पनि डीएसपीलाई कमान्ड दिइएको छ ।
झापा–५ मा मात्र दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका निम्ति यसअघि तैनाथ सुरक्षाकर्मीका अलावा थप टोली परिचालन गरिएको हो ।
करिब दुई साताअघि कोसी प्रदेश प्रहरी कार्यालयबाट १०० सुरक्षाकर्मी झापा–५ मा ल्याइएको थियो । केही दिनअघि फेरि थप चार डीएसपीसहित ठूलो संख्यामा प्रहरी खटाइएको छ ।
निर्वाचनलक्षित यहाँ तीन गुणा सुरक्षा जनशक्ति थप गरिएको झापा प्रहरी प्रमुख एवं एसपी वसुन्धरा खड्काले बताइन् । झापामा निर्वाचन गराउन यथेष्ट प्रहरी रहेको उनले जानकारी दिइन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८