• माघ २, २०८२, शुक्रवार Friday, 16 January, 2026

अझै सुरु भएन एमालेको मतदान, असन्तुष्ट पनि भोट माग्दै

  • खबरदाता

अझै सुरु भएन एमालेको मतदान, असन्तुष्ट पनि भोट माग्दै

नेकपा एमालेमा ११ औँ महाधिवेशनको लागि हुन लागेको नेतृत्व चयनको भोटिङ अझै सुरु भएको छैन । ३०१ केन्द्रीय कमिटीको लागि हुन लागेको नेतृत्व चयनको लागि अझै मतदान सुरु नभएको हो । नेतृत्वको लागि ७०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी भएको छ । तर धेरै उम्मेदवार भएपछि प्राविधिक विषय मिलाउन समय लागेकोले अझै पनि मतदान सुरु नभएको हो । नेतृत्व चयनको लागि अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलमै उम्मेदवार अगाडि सारेका छन् । लगातार तेस्रोपटक अध्यक्ष बन्ने धुनमा रहेका ओलीलाई पोखरेलले टक्कर दिँदै छन् ।

पाँच उपाध्यक्षको लागि ११ जना, एक महासचिवको लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे, तीन उपमहासचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । नौ सचिवको लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । समयमा मतदान सुरु नभए पनि उम्मेदवार, नेता र कार्यकर्ताहरू मत माग्न व्यस्त छन् ।

मत माग्ने लाइनमा असन्तुष्ट नेताहरू पनि देखिएका छन् । महासचिवमा उम्मेवदारी दिन नपाएका नेता प्रदीप ज्ञवालीसमेत प्यानललाई भोट माग्दै गरेका देखिएका छन् । महासचिवमा शंकर पोखरेलको उम्मेदवारीप्रति असन्तुष्टि जनाए पनि ज्ञवाली उनैलाई भोट माग्न उत्रिएका छन् ।

अन्य नेता कार्यकर्ता पनि अनेक झाँकीसहित भोट माग्न व्यस्त छन् । मतदान सुरु नभए पनि उम्मेदवारहरू आज बिहानैदेखि मत माग्न व्यस्त भइरहेका छन् । मतदानको लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुँदै छ । एक जनालाई भोट हाल्न बढीमा ४० मिनेटसम्म लाग्ने बुझिएको छ ।

 

  • प्रकाशित मिति : पुस १, २०८२, मंगलवार १५:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८