नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ। उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो।
सडकखण्डमा आजदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ ।
धादिङको गल्छी–गजुरी खण्डअन्तर्गत पर्ने जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा बनाउनुपर्ने भएकाले सवारी रोकेर काम गर्न लागिएको हो। त्यस्तै, नागढुंगादेखि पिप्लामोडसम्मको खण्ड कालोपत्रे गर्न सवारीसाधन रोकेर काम गर्न लागिएको आयोजनाले जनाएको छ।
काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ ।
नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ। मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८