साम हेज्लेट र फाफ डु प्लेसिसको अर्धशतकमा विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पहिलो हार चखाएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा विराटनगर ६ विकेटले विजयी भयो ।
यो जितसँगै सात खेलमा १० अंक जोडेको विराटनगरले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर पक्का गरेको छ । पराजित सुदूरपश्चिम समान खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ ।
अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर नै भिड्नेछन् । यसैगरी, इलिमिनेटमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १४७ रनको लक्ष्य विराटनगरले ११।५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
विराटनगरका लागि हेज्लेटले २७ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी, डु प्लेसिसले २० बलमा पाँच चौका र चार छक्कासहित ५० मार्टिन गप्टिलले २२ र प्रतिश जिसीले ३ बलमा १३ रनको योगदान गरे ।
सुदूरपश्चिमका लागि अभिनाश बोहोराले दुई र हरमित सिंहले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४५, ईशान पाण्डेले ३८, जोश ब्राउनले २४, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए ।
विराटनगरका लागि सन्दीप लामिछानेले तीन, प्रतिस जिसीले दुई र बसिर अहमदले एक विकेट लिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८