• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

  • खबरदाता

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ ।

निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।

आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मंसिर २१ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ ।

समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मंसिर २४ गते प्रकाशित हुनेछ ।

आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उमेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

माघ ३० गते भने समानुपातिकतर्फको उमेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उमेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उमेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ ।

माघ ८ गते उमेदवारको नामावली प्रकाशन हुनेछ । माघ ९ गते उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उमेदवारको अन्तिम नामावली प्रकाशन हुने र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । रासस

  • प्रकाशित मिति : मंसिर १९, २०८२, शुक्रवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८