• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

  • खबरदाता

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको राजावादीको प्रदर्शनका मुख्य नाइकेका रुपमा रहेका प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न भनेको हो ।

प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो ।

२०८१ चैत २६ गते भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई गत जेठ ३० गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले थुनामा पठाउने आदेश दिएसँगै उनी डिल्ली बजार जेलमा थिए । उक्त घटनामा सरकारी वकिलको कार्यालयले ५० जनाविरुद्ध राज्यविरुद्धसमेतको कसुरमा जिल्ला अदालतमा अभियोजन गरेको थियो । त्यसमध्ये प्रसाईंसहित ३९ जना प्रहरी हिरासतमा थिए ।

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको थियो ।

  • प्रकाशित मिति : साउन १९, २०८२, सोमवार २०:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८