• माघ २, २०८२, शुक्रवार Friday, 16 January, 2026

भोलिबाट मधेस सहितका स्थानमा वर्षा हुने पूर्वानुमान

  • खबरदाता

भोलिबाट मधेस सहितका स्थानमा वर्षा हुने पूर्वानुमान

देशका केही भागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । भोलिबाट भने देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

“काठमाडौंमा आज वर्षाको सम्भावना छ । दिउँसो र राति नै वर्षा हुनेछ,” मौसमविद् सञ्जिव अधिकारी बाह्रखरीसँग भन्छन्, “राति वर्षा भएकाले बिहान भने काठमाडौंमा खुल्नेछ । तर, १२र१ बजेपछि वर्षा हुने सम्भावना छ ।”

उनका अनुसार काठमाडौंमा भारी वर्षाको सम्भावना छैन । वाग्मती प्रदेशको सिन्धुपाल्चोक र दोलखाकातिरका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको उनले जानकारी दिए ।

विभागले राति केही स्थानमा भारी वर्षा हुने बताएको छ । राति देशभर साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

मौसमविद् अधिकारीका अनुसार भोलिबाट भने मनसुनी प्रणाली थप सक्रिय हुने पर्वानुमान छ । “भोलिदेखि आगामी दिन अहिलेको तुलनामा धेरै वर्षा हुने देखिन्छ,” मौसमविद् अधिकारी भन्छन्, “यो अवधीमा विभागले भारी वर्षा हुने पूर्वानुमान गरेको छ । धेरै भारी वर्षा हुने सम्भावना पनि हुन सक्छ ।”

यो पटक अहिलेसम्म धेरै वर्षा नभएका क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान छ । मधेस र लुम्बिनी प्रदेशका दक्षिणी इलाकामा वर्षा नहुँदा खडेरी लागेको छ । यी क्षेत्रमा पनि यो पटक वर्षा हुने पूर्वानुमान गरिएको मौसमविद् अधिकारी बताउँछन् ।

यी क्षेत्रमा पानी नपर्दा अहिलेसम्म धान रोपाईं हुन सकेको छैन । रोपाईं भएका खेत पनि सुकेर रोपो मर्न थालेको छ । सरकारले तराईलाई सुक्खाग्रस्थ क्षेत्र घोषणा गरेको छ ।

  • प्रकाशित मिति : साउन १६, २०८२, शुक्रवार ०७:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८