• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

भारत हुँदै कुवेत जान लागेका ४७ नेपाली महिलालाई स्वदेश फर्काइयो

  • खबरदाता

भारत हुँदै कुवेत जान लागेका ४७ नेपाली महिलालाई स्वदेश फर्काइयो

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले कुवेत जान लागेका ४७ नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । गैरकानुनी ढंगले भारतको बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत जान लागेका उनीहरूलाई बुधबार भारत सरकारका सम्बन्धित निकायहरूसँगको सहकार्यमा उद्धार गरी नेपाल फर्काएको हो ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी एयरको उडानमार्फत मंगलबार बोर्डिङ पास लिइ कुवेत जाने लागेका थिए । उनीहरूसँग भएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शंकास्पद देखेपछि विमानस्थलको अध्यागमनले राजदूतावाससँग सम्पर्क गरेको थियो । सबै एनओसी नक्कली भएको प्रमाणित भएपछि उनीहरूलाई कुवेत जानबाट रोक लगाइएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसअघि, बुधबार नै अर्को ४७ जनाको समूहलाई शंकास्पद एनओसी बोकेको आधारमा भारतको सोही अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिङ पास जारी नगरी फर्काइएको थियो ।

त्यसलगत्तै राजदूतावासका प्रतिनिधिहरू विमानस्थल गई अध्यागमनका अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो । भारतको विदेश मन्त्रालयसमेतको सहजीकरणमा उनीहरूसँगै आएका राजदूतावासका प्रतिनिधिहरूको रोहवरमा थप अनुसन्धानका लागि बिहीबार जिल्ला प्रहरी कार्यालया, रूपन्देहीलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

मानव तस्करहरूको फन्दामा परी गैरकानुनी रूपमा विदेश जाने र विदेशमा गई अलपत्र पर्ने नेपाली नागरिकहरूको संख्या ठूलै छ । अतः आफू ठगिन एवं कानुनी झन्झटबाट जोगिन विदेश जानुअघि आफूसँग भएका पासपोर्ट, भिसा, एनओसीलगायत सबै कागजातहरू दुरुस्त भएको यकिन गरेर मात्र यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

  • प्रकाशित मिति : साउन ९, २०८२, शुक्रवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८