• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

सुदुरपश्चिममा ओल्के पर्व मनाइँदै

  • खबरदाता

सुदुरपश्चिममा ओल्के पर्व मनाइँदै

भदौ १, २०८०

काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर डडेल्धुरासहित सुदुरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ ।

साउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ। गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने गरिन्छ।

वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ति रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाइएको स्थानीय सुनिता विष्ट बताउँछिन् ।

ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ।

यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास छ ।

सदियौंदेखि मनाइँदै आएको यो चाडलाई पछिल्लो पुस्ताले प्राथमिकता दिन छाडेको डडेल्धुराका स्थानीय पदम सेठीले बताए।

  • प्रकाशित मिति : भदौ १, २०८०, शुक्रवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८