• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

अर्थमन्त्रीले गरिबलाई निचोरे, व्यापारी पोसे

  • खबरदाता

अर्थमन्त्रीले गरिबलाई निचोरे, व्यापारी पोसे

जेठ १७, २०८०

 

उदारवादी नीति अबलम्बन गरेको कांग्रेस र समाजवादीको एजेण्डा बोकेको दाबी गर्ने माओवादीसम्मिलित गठबन्धनको सरकार छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए पनि कांग्रेस नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत हाबी भएका छन् । बजेटमार्फत् ब्यापारीलाई पोसेका महतले गरिबलाई निचोरेका छन् । यसको प्रतिफल आगामी आर्थिक वर्षमा विपन्न परिवार अझ मारमा पर्नेछ ।

अर्थमन्त्री महतले निजी सवारीसाधनको करमा खासै कैंची चलाएका छैनन् । तर, भाडाका सवारीसाधनले वार्षिक तिनुपर्ने आयकरको सीमा बढाएका छन् । भाडामा सवारीसाधन विशेषगरी यात्रु बोक्न र ढुवानीमा प्रयोग हुन्छन् । तर, अर्थमन्त्री महतले भ्यान, टक, ट्याक्टर, किसानले प्रयोग गर्ने पावर टिलर, अटो रिक्सा र टेम्पोको आयकर दुई हजारसम्मले बढाएका छन् । झट्ट हेर्दा यो कर सवारी धनीले तिर्नुपर्ने देखिए पनि आखिर यात्रु वा उपभोक्ताबाट असुल हुन्छ ।

मन्त्री महतले धेरै उपभोक्ताले प्रयोग गर्नसक्ने क्षमता रहेको ५० देखि सय किलोवाटका विद्युतीय सवारीको भन्सार र अन्तःशुल्क बढाएका छन् । ५० देखि १०० वाटसम्मका विद्युतीय सवारीसाधनको भन्सारदर पाँच प्रतिशतले बढाएर १५ प्रतिशत बनाइएको छ अन्तशुल्क १० प्रतिशत लगाइएको छ । तर, त्यसभन्दा माथिका महँगा गाडीमा भन्सार र अन्तशुल्क बढाइएको छैन, उल्टै घटाइएको छ । पछिल्लो पटक विद्युतीय माइक्रोको संख्या बढिरहेको थियो, तर सरकारले कर बढाइदिएको छ ।

मुलुकमा उखु किसानको उत्पादन नबिकेको र उद्योगीले पैसा नतिरेको भनेर समाचार सार्वजनिक भइरहन्छ । मुलुकलाई चिनीमा आत्मर्निभर बनाउन छाडेर अर्थमन्त्री महतले व्यापारीलाई पोस्न चिनीको आयात भन्सार दर ४० बाट घटाएर ३० प्रतिशतमा झारेका छन् । यसले उद्योगी मारमा पर्नेछन् भने व्यापारी खुसी भएका छन् ।सरकारले जहाजको इन्जिन र पार्टपुर्जामा समेत भ्याट लगाएपछि त्यसको मारमा हवाइ यात्रु पर्ने भएका छन् । किनकी टिकट महँगो हुने भएको छ ।
सानो उद्यम वा कर्मचारी ससानो रकम बैंकमा जम्मा गरेर बचत गर्छन् ।

तर, सरकारले निक्षेपको ब्याज आम्दानीको कर १ प्रतिशत विन्दुले बढाएको छ। ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको हो । सरकारले व्यवसायिक कृषिको कर पनि ह्‍वात्तै बढाएर १० प्रतिशत पुर्‍याइएको छ। यसअघि यसमा कुनै कर लाग्ने गरेको थिएन। यसले तरकारी र खाद्यान्न महँगो बनाउनेछ ।

कच्चा तेल ९क्रुड आयलं र तोरीको आयातमा भन्सार महसुल वृद्धि गरिएको छ, यसको मारमा तेल उद्योगी मात्र होनइ उपभोक्तामा पनि पर्नेछ । महतले कच्चा तेलको भन्सारमहसुललाई १ बाट १० प्रतिशत बनाएका छन्। त्यस्तै कच्चा तोरीको भन्सार महसुललाई १ बाट ५ प्रतिशतमा पुर्‍याइएको छ।

  • प्रकाशित मिति : जेठ १७, २०८०, बुधवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८