पुस – १९, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत जुटाएर अघिल्लो साताको सोमबार सरकारको नेतृत्व सम्हाले । राष्ट्रपतिबाट सपथ लिएर सरकारको नेतृत्व सम्हाल्दा उनले पहिलो चरणमा ८ सदस्यीय मन्त्रीमण्डल बनाए । तीनजना उपप्रधानमन्त्रीलाई त मन्त्रालयको जिम्मेवारी त्यही दिन दिए तर मन्त्रीको सपथ लिएका ४ जनाले भने अझै विभागीय जिम्मेवारी पाएका छैनन् । उनीहरुको काम निवासबाट झण्डा हल्लाउँदै प्रधानमन्त्री कार्यालयमा जानु, हाजिर गर्नु र राजनीतिक भेटघाटमा समय कटाउनु बन्न पुगेको छ ।
माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारमा सोही पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित अर्थ मन्त्रीको भूमिका पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री छन् । उनीहरु नियमित आफ्नो मन्त्रालय जान्छन् । विभागीय सचिव, मातहत निकायका प्रमुख र अरू कर्मचारीबाट जानकारी लिनेदेखि अनुगमन, निरीक्षण, नयाँनयाँ योजना तथा घोषणामा उनीहरूको दिन बितिरहेको छ ।त्यही बेला मन्त्रीको सपथ लिएका एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमत पार्टीका अब्दुल खानलाई भने मन्त्रालय तोकिएन ।
कामविहीन भएपछि उनीहरू राजनीतिक भेटघाट गरी बधाई खाएरै दिन बिताइरहेका छन् । चार(चारजना मन्त्री प्रधानमन्त्री कार्यालयमा हाजिर गरेर तलब पकाउँदै छन् । यति मात्र होइन, प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई चार–चार जना मन्त्रीका आसेपासेको स्वागत र सत्कार गर्नै हम्मे परेको छ ।संविधानको धारा ७६ मा प्रधानमन्त्रीसहित २५ सदस्यसम्मको मन्त्रीमण्डल बनाउन मिल्ने व्यवस्था छ । प्रधानमन्त्री कार्यालयसहित अहिले २२ वटा विभागीय मन्त्रालय छन् । तीनजना उपप्रधानमन्त्रीले विभागीय जिम्मेवारी पाएका छन् भने बाँकी सबै मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेका छन् ।
काम नपाएपछि बिनाविभागीय मन्त्री पुसको पहारिलो घाममा काजुबदाम चपाउँदै गफ हाँक्न व्यस्त छन् ।प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । त्यसयता बिनाविभागीय मन्त्रीले पनि जिम्मेवारी पाउने सम्भावना न्यून छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते संघीय संसद अधिवेशन आह्वान गरेकी छन् ।
त्यसको भोलिपल्टै विश्वासको मत लिने गरी कार्यसूची मिलाइदिन प्रधानमन्त्रीले संसद सचिवालयमा पत्राचार गरेका छन् । राजनीतिक सहमति र भागबण्डा नमिलेको बहानामा मन्त्रालय जति प्रधानमन्त्री आफैले राख्दा एकातिर भएका मन्त्री जिम्मेवारीविहीन बन्न पुगेका छन् भने मन्त्रालयहरू नेतृत्वविहीन एवं बेवारिसेजस्तै देखिएका छन् । यसले देशमा जनादेशपछिको नयाँ सरकार आएको पनि अनुभूति हुन सकेको छैन ।मन्त्री पद कसैको रहर पुर्याउने विषय होइन । कसैको भाग मिलाउने विषय पनि होइन ।
देश र जनताका हितमा काम गर्न र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनका लागि हो । तर यहाँ त केही व्यक्तिका रहर पुर्याउन र दलहरुको भागबन्डा मिलाउन मन्त्री बन्ने र बनाउने खराब परिपाटी स्थापित भएको छ । अझ कसलाई कुन मन्त्रालय दिने भन्नेसम्म निर्णय गर्न नसक्नेहरुले कसरी देश र जनताका पक्षमा हितकर निर्णय लिन सक्लान् ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८