भाद्र १३, २०७९
सत्ता गठबन्धनलाई सिट बाडफाँट ‘वीरबलको खिचडी’सहर बनेको छ । चुनाव घोषणा भए यता हरेक दिनजसो गठबन्धनको बैठक बसेपनि दलहरू टसमस नहुँदा सहमति नजुटेको हो ।४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुँदैछ । यो चुनावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् ।प्रतिनिधिसभामा १६५ सिट छ । तर, दलहरूले भने २३४ सिटमा दाबी ठोकिरहेका छन् । कांग्रेसले एक सय सिटको दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी राखिरहेका छन् ।
दलहरुको यही ढिपीका कारण आइतबारको बैठक पनि विना निस्कर्ष टुंगिएको छ ।गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल गठन गरेको थियो । यो कार्यदलले ०७४ र अघिल्लो स्थानीय तहको निर्वाचनको परिणामलाई पनि सिटबाँडफाँटको आधारका रुपमा अघि सारेको छ ।गठबन्धनको गत बिहीबारको बैठकले कार्यदललाई निर्वाचन क्षेत्रअनुसार गठबन्धनको विवरण तयार गर्न निर्देशन दिएको थियो । कार्यदलले विवरण बनाइरहेको छ ।सरकारका प्रवक्तासमेत रहेका कांग्रेसबाट कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको सिटसंख्या चाँडै टुंग्याइने बताए ।
गठबन्धनका कारण निकै हतोत्तसाहित मनस्थितिमा पुगेको एमाले भने गठबन्धन दलभित्र सिट बाडफाँट नटुंगिदा खुसी छ । चुनाव नजिकिँदै जाँदा गठबन्धनभित्र सिटकै आधारमा फुट होस् भन्ने चाहना एमाले पंक्तिमा देखिन्छ । यसरी गठबन्धनले सार्थकता नपाएमा आफूलाई प्रतिस्पर्धा गर्न सहज हुने एमालेको ठम्याइ छ ।
माओवादी नेताहरु पनि कांग्रेसले ‘जबरजस्ती’गरे वामगठबन्धन गर्ने चेतावनी दिइरहेका छन्। यद्यपि, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने एमालेबाहेकको वाममोर्चा भन्दै आएका छन् ।माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा ल्याउने सहमति गरिसकेका छन्।एमालेले भने अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरिसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८