• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

इजरायलका निम्ति कार्यवाहक नेपाली राजदूत भण्डारी भन्छन्– म बंकरमा छु

  • खबरदाता

इजरायलका निम्ति कार्यवाहक नेपाली राजदूत भण्डारी भन्छन्– म बंकरमा छु

काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रूपमा शनिबार बिहान इरानमा आक्रमण सुरु गरे । त्योसँगै यति बेला इजरायलको राजधानी तेल अभिभमा ठूलो आवाजमा साइरन बजिरहेका छन् । इरानबाट हुन सक्ने मिसाइल आक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सुरक्षित हुन ती साइन बजाइएका हुन् ।

साइरन बज्नेबित्तिकै नजिकको बंकरमा जानुपर्ने नियम छ । “अहिले साइरन बजिरहेको छ,” इजरायलका निम्ति कार्यवाहक नेपाली राजदूत ओमकुमार भण्डारीले बाह्रखरीसँग भने, “म त अहिले बंकरमा छु ।”

कार्यवाहक राजदूत भण्डारी तेल अभिभस्थित नेपाली दूतावासमा ‘पोस्टिङ’ भएको दुई महिना भयो । तेल अभिभ पुगेको दुई महिनायता शनिबार पहिलोपटक बंकरमा बस्नुपरेको उनले सुनाए ।

“म यहाँ आएको दुई महिना भयो । यो अवधिमा पहिलोपटक आज ९शनिबार० बंकरमा छिर्नुपरेको हो,” उनले भने ।

उनले इजरायलमा वैध ६ हजार र अवैध दुई हजार गरी करिब आठ हजार नेपाली कार्यरत रहेका बताए । सबै नेपाली सुरक्षित रहेका उनको भनाइ छ ।

“हामीले यहाँ रहनुभएका सबै नेपालीलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन भनेका छौँ,” कार्यवाहक राजदूत भण्डारीले भने, “कुनै अप्ठ्यारो परेमा वा समस्या भए तुरुन्त दूतावासमा सम्पक गर्न भनेका छौँ ।”

अमेरिका र इजरायलले स्थानीय समयानुसार शनिबार बिहान अचानक इरानमाथि आक्रमण सुरु गरेका थिए । आक्रमणलगत्तै इजरायलले आपत्कालीनबाहेक अरू सबै सेवा बन्द गरेको छ ।

इरानले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । इरानले प्रत्याक्रमण सुरु गरेपछि इजरायली सहरमा साइरन बजाइएको हो ।

  • प्रकाशित मिति : फागुन १६, २०८२, शनिवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८