• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

निर्वाचन सामग्री लिएर चितवनका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

  • खबरदाता

निर्वाचन सामग्री लिएर चितवनका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

 

बैशाख २८,२०७९

चितवन – ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आबश्यक सामाग्री लिएर सबै मतदान केन्द्रमा कर्मचारी पुगेका छन।

मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ । मतदान हुनु भन्दा ४८ घन्टाको अघि देखि मौन अबधि सुरु हुन्छ । यस बीचमा मौन अवधिमा कसैले पनि कुनै पनि दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट उमेदवारले वा उमेदवारको पक्षमा मत माग्न पाइँदैन । त्यस्तै, कुनै पनि प्रकारका छलफल, गोष्ठी, अन्तरक्रिया , सभा–सम्मेलन, कार्यशालालगायतका कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले बताएको छ ।

मतदानस्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट कुनै सूचना वा प्रचारप्रसार सामग्री पोस्ट, शेयर वा प्रतिक्रिया जनाउन पनि पाइँदैन । सामाजिक सञ्जालमा पोस्ट भइसकेका उमेदवार वा दलको प्रचारप्रसारका सामग्री पनि हटाउन आयोगले निर्देशन दिएको छ ।

मतदान कार्य सम्पन्न नहुँदासम्म मादक पदार्थको बिक्रीवितरण गर्न, उमेदवार वा राजनीतिक दलको चुनाव चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, मास्कलगायत साङ्केतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न र प्रदर्शन गर्न पनि पाइँदैन ।

मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गरे त्यस्तो व्यक्तिलाई सुरक्षा निकायले तत्कालै नियन्त्रणमा लिएर कारबाही गर्न सक्नेछ । मौन अवधि उल्लङ्घन भएमा उल्लङ्घनकर्तालाई एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ । उमेदवारले उल्लङ्घन गरे एक लाख रूपैयाँ जरिवाना र उमेदवारको उमेदवारी नै रद्दसमेत हुने व्यवस्था छ ।

तीन हजार बढी कर्मचारी खटिए

आयोगले निर्वाचनको तयारीका लागि मंगलबारदेखि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीलाई खटाएको छ । चितवनमा करिब तीन हजार ६०८ कर्मचारी खटिएका छन् । मतदानस्थलको सुरक्षार्थ खटिएका प्रहरी कमान्डहरुको साथमा मतदान अधिकृतहरुलाई मतपत्रलगायत निर्वाचन सामग्रीको जिम्मा लगाइएको हो ।

मतपत्र र मतपेटिकासहित ६१ प्रकारका निर्वाचन सामग्री दिएर कर्मचारीलाई मतदान केन्द्रमा खटाइएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । चितवनमा एक तेस्रोलिङ्गीसहित तीन लाख ९७ हजार ६८५ मतदाता छन् । जिल्लामा १६१ मतदानस्थल र ४५१ मतदान केन्द्र छन् ।

‘एउटा मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी खटाइएको छ । अब उहाँहरु केन्द्रमा पुगेर आज बुधबारदेखि नै मतदाता परिचयपत्र बाँड्ने, सर्वदलीय बैठक राख्ने, मतदानस्थल बनाउने र निर्वाचन आचारसंहिता पालना गराउने काम गर्नुहुन्छ’, उनले भने ।

भरतपुरमा एक लाख ८५ हजार ७५२, खैरहनीमा ४३ हजार ५३१ र राप्तीमा ४० हजार ६४९ मतदाता छन् । त्यस्तै, रत्ननगरमा ५२ हजार ६४२, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता रहेका छन् ।

भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका छन् । इच्छाकामना गाउँपालिका, माडी नगरपालिका र राप्ती नगरपालिकाको निर्वाचन सामग्री सोमबार नै मतदान अधिकृतको जिम्मा लगाइएको हो ।

जिल्लामा चार लाख ३४ हजार मतपत्र आएको छ । भरतपुर महानगरपालिकाका लागि दुई लाख पाँच हजार र अन्य छ पालिकाका लागि दुई लाख २९ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जानकारी दिएको छ । आयोगले मतदाताको संख्याभन्दा ९।१३ प्रतिशत अर्थात् ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो ।

२५ मतदानस्थल अतिसंवेदनशील

जिल्लाका मतदानस्थलको सुरक्षा चुस्तदुरूस्त राख्न नियमित स्थलगत अध्ययन र अनुगमन भइहेको कार्कीले बताए । एकीकृत सुरक्षा योजना समितिका अनुसार जिल्लामा २५ वटा अतिसंवेदनशील मतदानस्थल छन् । ९२ वटा संवेदनशील र ४४ वटा मतदानस्थल सामान्य किसिमको रहेको उनले बताए । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ६५१ म्यादी प्रहरी पनि खटाइएको छ ।

दैनिक भत्ता कर्मचारीको दुई हजार पाँच सय

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने स्वयंसेवकहरुले दैनिक भत्ताबापत एक हजार दुई सय रूपैयाँ पाउने भएका छन् । स्वयंसेवकले तीन दिनसम्म उक्त सेवा लिन पाउनेछन् ।

एउटा मतदान केन्द्रमा तीन जनासम्मले स्वयंसेवक बन्न पाउने प्रावधान रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, कर्मचारीको दैनिक भत्ता तथा भ्रमण खर्च भने दुई हजार पाँच सय तोकिएको छ ।

पानी, बत्ती, सञ्चार सुविधालगायत विविध तथा भैपरी आउने खर्च र मतदान केन्द्र निर्माण तथा व्यवस्थापन खर्च शीर्षकमा पाँचरपाँच हजार रूपैयाँ छुट्टयाइएको छ । एकदिनका लागि तालिम खर्च दुई हजार पाँच सय र ढुवानी खर्च पाँच सय रूपैयाँ छुट्टयाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।चितवन पोस्टबाट ।

  • प्रकाशित मिति : वैशाख २८, २०७९, बुधवार १२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८