• मंसिर ११, २०८३, शुक्रवार Friday, 27 November, 2026

मलेसिया कामदार पठाउने प्रकरण: दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

  • खबरदाता

मलेसिया कामदार पठाउने प्रकरण: दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- गैरकानुनी रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित १० जनामाथि अनुसन्धान गर्न थप म्याद लिएको हो ।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जानकारी दिए ।

सिआइबीले गत मङ्सिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तत्कालीन मन्त्रीद्वय कुँवर र यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

त्यसैगरी कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि पक्राउ परेका छन् ।

यसै प्रकरणमा प्रहरीले आज पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गरेको छ । मलेसिया रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमितता, निर्णय प्रक्रियामा अधिकारीहरूको भूमिका र रकमको कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिआइबीका अनुसार मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकसँग ठगी गरी सङ्कलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र पक्राउ परेकाहरूमाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

 

  • प्रकाशित मिति : मंसिर ११, २०८३, शुक्रवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८