• कात्तिक २४, २०८३, मंगलवार Tuesday, 10 November, 2026

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

  • खबरदाता

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

कर्णाली- जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् । उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए ।

यही कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए । भागेकामध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक २३, २०८३, सोमवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८