• साउन १२, २०८३, मंगलवार Tuesday, 28 July, 2026

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

  • खबरदाता

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । विगत लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित भएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किएका थिए । उनलाई १४ दिनअघि हेलियस अस्पतालमा भर्ना गरिएको थियो ।

आजै २ः५१ मिनेटमा डाक्टरहरूको टिमले श्रेष्ठको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुयोग आचार्यले जानकारी दिए । कांग्रेस मुख्यसचिव कृष्ण दुलालले पनि नेता श्रेष्ठको निधन भएको पुष्टि गर्दै केही बेरमा आधिकारिक विज्ञप्ति जारी गरिने बताए ।

अस्पतालमा भेटेर फर्किएपछि यही साउन ७ गते कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका थिए । उनको अन्त्येष्टि बुधबार (साउन १३) बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए ।

अन्त्येष्टिअघि श्रद्धाञ्जलीका निम्ति उनको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । बुधबार बिहान ८ देखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीपश्चात् उनको अन्त्येष्टि गरिने मेखलालले बताए ।

श्रेष्ठमा प्याङ्क्रियाजसम्बन्धी समस्या देखिएपछि नर्भिक र धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि उनलाई भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगेर उपचार गराइएको थियो । त्यहाँ उनले किमोथेरापी समेत लिएका थिए ।

करिब तीन महिनाको उपचारपछि उनी स्वदेश फर्किएका थिए । तर, त्यसयता उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर हुँदै गएको थियो । दिवंगत श्रेष्ठ पछिल्लो ९-१० दिनदेखि जावलाखेलस्थित हेलियस अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत थिए ।

गोपालमान कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक थिए । उनले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालेका थिए थिए ।

राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेका बेला श्रेष्ठले पार्टीको नेतृत्व गरेका थिए । गत वर्ष पुसमा उनी देउवा समूह छाडेर विशेष महाधिवेशनका पक्षमा खुलेका थिए ।

  • प्रकाशित मिति : साउन १२, २०८३, मंगलवार १७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८