• साउन ३, २०८३, आइतवार Sunday, 19 July, 2026

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

  • खबरदाता

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।

हाल देशभर बदली भएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर अधिकांश स्थानमा बदली हुनेछ । हिमाली,पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति पनि देशभर अधिकांश बदली हुनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति नै कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र वाग्मती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । रासस

  • प्रकाशित मिति : साउन ३, २०८३, आइतवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८