काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडकखण्ड कालेपत्र गर्न आगामी चैतमा दुई हप्ता बन्द गरिने भएको छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए ।
उनका अनुसार, साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपांग्रे सवारीसाधन चल्न रोक लगाइनेछ । यस्तै, उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
यसैगरी टिपर र ट्रकलगायत (पास लिएकासमेत) मालवाहक सवारीसाधनलाई चौबीसै घण्टा चलाउन रोक लगाइनेछ
उक्त सडकखण्ड निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ। कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनःबोलपत्र आह्वान गरेको थियो।
चार किमि दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।
सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत वर्ष फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसँग ठेक्का रद्द गरेको हो । सडक विस्तारको काम कम्पनीले ०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।
अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र अस्फाल्ट कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ ।
सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएका सडकमा दुर्घटना हुँदा यात्री घाइते भइसकेका छन् । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८