आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हुम्ला र डोल्पाका उत्तरी क्षेत्रमा हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्याइएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका चार मतदान स्थलमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारीलाई पुर्याएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।
हिमपातले सडक अवरुद्ध नाम्खा गाउँपालिका– ६, स्थित ५,२०० मिटर उचाइको न्यालुलेक र नाम्खा गाउँपालिका– ५ को ४,९४९ मिटर उचाइको नारालेक पूर्ण रूपमा बन्द भएपछि सेनाको हेलिकोप्टरबाट निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्याइएको उनले बताए ।
प्रजिअ रेग्मीका अनुसार नाम्खा गाउँपालिका– ६ को हिमशिखर प्राथमिक विद्यालयल तिल गाउँ, सुनखानी आधारभूत विद्यालय, हल्जी र भृकुटी आधारभूत विद्यालयमा रहेका मतदानस्थलमा हेलीमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइएको हो । माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडकखण्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको पनि उनले बताए ।
कर्णाली करिडोर हिल्सा सिमकोट सडक योजना कार्यालयले नारा लेकको हिउँ पन्छाएपछि हिमपातले अवरुद्ध सडक खुलेको हो । उनका अनुसार नाम्खा गाउँपालिका– ६ को पाँच ५,२०० मिटर उचाइको न्यालु लेकको हिउँ पनि पन्छाउने काम जारी छ ।
यस्तै, डोल्पाको उत्तरी क्षेत्रमा पर्ने २३ मतदानस्थलमध्ये २० वटामा निर्वाचन सामग्री र कर्मचारीलाई हेलिकोप्टरबाट पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् । उपल्लो डोल्पाका तीनवटा मतदानस्थलमा मंगलबार (आज) बेलुकासम्म हेलीबाट कर्मचारी र निर्वाचन सामग्री पुग्ने उनले बताइन् ।
उनका अनुसार मतदानस्थलमा सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ भइसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८