• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

रामेछाप दुर्घटना : थप एकजनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • खबरदाता

रामेछाप दुर्घटना : थप एकजनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

मन्थली – रामेछाप नगरपालिका–२, देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक सोमबार (फागुन १८) दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजनाको घटनास्थलमा र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव छन् । साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिए ।

दुर्घटनामा सातजना घाइते भएका छन् । घाइतेमध्ये जिल्लाको खाँडादेवी गाँउपालिका–४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ का २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का र सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे र ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्कीलाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त गाडी देउराली र साँघुटार गरी तीनवटा ‘बुथ’का निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर गइरहेको थियो । मावि देउरालीको निर्वाचन सामग्री बुझाएर सिरुबारी र हिमगंगा मावि साँघुटारमा रहेका दुईवटा मतदान केन्द्रका सामग्री लिएर जाँदै गरेको अवस्थामा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले जानकारी दिए । गाडी सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो । रासस

  • प्रकाशित मिति : फागुन १८, २०८२, सोमवार २०:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८