• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

संस्थापन पक्षधर नेता भन्छन्– कांग्रेस फुट्दैन, विशेष महाधिवेशन हुँदैन

  • खबरदाता

संस्थापन पक्षधर नेता भन्छन्– कांग्रेस फुट्दैन, विशेष महाधिवेशन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी एकताबद्ध भएर आमनिर्वाचनमा जाने बताएका छन् । काठमाडौंमा भेला भएका संस्थापन पक्षधर नेताले यस्तो जिकिर गरेका हुन् ।

उनीहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए । कांग्रेस नेता शिव हुमागाईंले आमनिर्वाचनको समय आइसकेकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै बुद्धिमानी हुने उल्लेख गरे ।

उनले कांग्रेसमा देखिएको आन्तरिक समस्या कसरी समाधान गर्न सकिन्छ भनेर आफूहरू लागिपरेको र शनिबार ९पुस २६०सम्म निकास निकालिने बताए । प्रक्रियागत रूपमा सबैसँग छलफल गरेर नयाँ रणनीतिका साथ कांग्रेस अघि बढ्ने उनको भनाइ छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति आफूहरूको कुनै भनाइ नरहेको उनले बताए । तर, महामन्त्री पदले सबैलाई विश्वासमा लिएर अघि बढ्ने भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

नेपाली राजनीतिमा कुनै पनि निर्णय राति अन्तिम क्षणमा टुंगिने गरेको उनले टिप्पणी गरे । निर्वाचनको मुखमा कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन जरुरी रहेकामा उनले जोड दिए ।

“।।।सबैलाई एकढिक्का बनाएर लैजाने नयाँ उपायबारे छलफल गर्दै छौँ । निर्वाचनको मुखमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि लैजाने काममा हामी लाग्छौँ,” उनले भने, “निर्वाचनको सेड्युल अघि आइसक्यो, योबीचमा महाधिवेशन, विशेष महाधिवेशन हुने र फाइदा पुर्‍याउने अवस्था छैन ।”

अर्को नेता मदनकृष्ण श्रेष्ठले निर्वाचनअगाडि महाधिवेशन गर्न सक्ने अवस्था नरहेको बताए । दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको उनले उल्लेख गरे । कांग्रेस कुनै पनि हालतमा नफुट्ने र एकताबद्ध भएर जाने उनले जिकिर गरे ।

“।।।नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यसम्पादनका बैठकमा धेरै कुरा भएका छन्,” उनले भने, “चुनावअघि महाधिवेशन सम्भव नरहेकाले चुनावपछि गर्नुपर्छ भन्ने माग धेरै सदस्यहरूको छ ।”

नेताहरूले कांग्रेस विधानमा एक वर्ष समय थप गर्न पाइने व्यवस्था रहेकाले वैशाखमा नियमित महाधिवेशन गर्नुलाई अवैधानिक भन्न नमिल्ने तर्क गरे । क्रियाशील सदस्यताको काम सकाएको भए पुसभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था रहेको उनीहरूले बताए । न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : पुस २५, २०८२, शुक्रवार १३:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८