• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

चितवनमा दुर्घटना बढ्दो : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु

  • रासस

चितवनमा दुर्घटना बढ्दो : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु

चितवन । गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । यो अवधिमा २१ पुरुष, ६ जना महिला र २ जना बालबालिकाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो। यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन्। यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन थिए।

उनका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका थिए। तीमध्ये दुई सय एक मोटरसाइकल थिए। यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० , ट्रक, ट्याङ्कर २४, बस १५, टेम्पो १४ थिए। यस्तै टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार थिए।

गत आवको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो। गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भयो। गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम भइरहेको थापाले बताए। फराकिला सडकमा तीव्रगतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अहिले दुर्घटना बढेको उनले बताए। सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले जानकारी दिए।

  • प्रकाशित मिति : मंसिर ९, २०८२, मंगलवार १०:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८