• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

कार्यविधि कुल्चेर  १५ दिनमै सीडीओ अर्याललाई तेस्रो पटक ‘क’ वर्गको जिल्ला

  • खबरदाता

कार्यविधि कुल्चेर  १५ दिनमै सीडीओ अर्याललाई तेस्रो पटक ‘क’ वर्गको जिल्ला

गत भदौ ४ गते पर्साको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गणेश अर्याललाई १५ दिनमै फेरि मन्त्रालयले ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका हुन् । अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउँदा गृहमन्त्री लेखकले ‘प्रमुख जिल्ला अधिकारी पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ नै उल्लङ्घन गरेका छन् ।

कार्यविधिमा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउँदा ‘ख’ र ‘ग’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेको प्रथम श्रेणीको अधिकृतलाई खटाउने उल्लेख छ । त्यस्तै, ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकालाई ‘ख’ वर्ग वा मन्त्रालयका महाशाखा वा विभागमा जिम्मेवारी दिने कार्यविधिमा लेखिएको छ ।

तर, चितवनको प्रमुख जिल्ला अधिकारी बन्दा अर्याल लगातार तेस्रो ‘क’ वर्गको प्रमुख जिल्ला अधिकारी बन्ने सहसचिव बनेका छन् । अर्याल पर्साको प्रमुख जिल्ला अधिकारी हुनुअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनेका थिए । कार्यविधि अनुसार रुपन्देही, पर्सा र चितवन ‘क’ वर्गका जिल्ला हुन् ।

यसअघिका दुई जिल्लामा रहँदा अर्याल विवादमा आएका थिए । पर्साको प्रमुख जिल्ला अधिकारी हुँदा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका कारण काम गर्न पाइनँ भन्दै आफूले सरुवा मागेको अभिव्यक्ति सार्वजनिक रूपमा दिएका थिए । उनको त्यो अभिव्यक्तिको विरोध भएको थियो।

त्यसअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी हुँदा पनि जिल्लाको एक अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले गरेको विरोध गरेपछि उनले दिएको अभिव्यक्तिको चर्को विरोध भएको थियो । डाक्टरहरू अर्यालको अभिव्यक्तिविरुद्ध आन्दोलनमै उत्रिएका थिए ।

मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार नै गृह मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सहसचिव शिवलाल तिवारीलाई भोजपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम भने मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

  • प्रकाशित मिति : भदौ १९, २०८२, बिहीवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८