• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

अफताब आलमलाइ थुनामै राख्नुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन

  • खबरदाता

अफताब आलमलाइ थुनामै राख्नुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया अघि बढेको छ ।

सर्वोच्च अदालत मुद्दा शाखाका अनुसार मुद्दा दर्ता भने भइसकेको छैन । विसं २०६४ सालमा चुनाव जित्न घरमै बम बनाएको, बनाउँदै गर्दा विस्फोट हुँदा करिब १२ जना मानिस घाइते भएको र विस्फोटका घाइतेलाई जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोग आलममाथि थियो ।

तर, धेरैजनाको हत्या भएको भनिए पनि मृत्यु दाबी भने रौतहटकै पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओशी अख्तर हराइरहेको भन्दै जाहेरी परेको थियो । उनीहरूलाई अन्य घाइतेहरूसँगै जलाएको अभियोग थियो ।

तर, अन्य मृतकबाट दाबी नपरेको र इन्सेकसहितको प्रतिवेदनबाट जलाएर हत्या गरिएको पुष्टि हुने र त्रिलोकप्रताप सिंह र ओशी अख्तर कहाँ छन् भनेर प्रतिवादीले देखाउन नसकेको भन्दै रौटहट जिल्ला अदालतले अफताबसहितलाई दोषी ठहर गरेको थियो ।

त्यही फैसलाबाट जेलमा रहेका आलम गत जेठ १४ मा उच्च अदालतको अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यानमुद्दामा आरोपितहरू मोहम्मद आलमसहितको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले नियमित प्रक्रियाअन्तर्गत सर्वोच्चमा पुनरावेदन गरेको हो । तल्लो अदालतको फैसलामा एक तहमाथिको अदालतबाट बदर भएमा महान्यायाधीवक्ता कार्यालयले आफ्नो मागदाबी लिइ सर्वोच्च अदालतमा जाने नीति छ ।

महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतबाट सफाइ पाएका मोहम्मद आफतब आलमलगायत सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाइ पाएकाहरूलाई पनि दोषी ठहर गर्नुपर्ने एकमुष्ट मागदाबी लिएको छ ।

 

  • प्रकाशित मिति : साउन २, २०८२, शुक्रवार १४:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८