फागुन ६, २०७९
प्रजातन्त्र दिवसको अवसरमा सरकारले १४ जनाको कैद सजाय माफ गरेको छ । ४ फागुनको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनालाई सजाय माफ गरेकी हुन् भने ३८१ को बाँकी रहेको कैद भुक्तानमा छुट दिएकी हुन् । यो निर्णय ७ फागुनबाट लागू हुनेछ ।द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पुष्कर गौतमसहित १४ जनाले कैद माफी पाएका हुन् । राष्ट्रपतिको कार्यालयले अन्य १३ जनाको नामावली सार्वजनिक गरेको छैन ।
मन्त्रिपरिषद्को मिति ४ फागुनकोको बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारले विष्णुकुमार लिम्बुसहित ३८१ कैदीको भुक्तान हुन बाँकी कैद सजाय पनि माफ गरेको छ । ‘विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले हरेक वर्ष दसैँ, लोकतन्त्र दिवस र प्रजातन्त्र दिवसजस्ता अवसर पारेर विभिन्न अपराधमा कैद सजाय पाएर कारागारमा रहेकाको चालचलन, भुक्तान गरेको कैदको अवधि र कैदीको उमेरका आधारमा बाँकी सजाय माफी दिने गरेको छ।तर पारदर्शिताको अभावमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरूले समेत माफी पाउने गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८