सन्दीप सम्मिलित जमैकाको खेल भदौ २ गतेदेखि

  • संबाददाता
  • भदौ ०२, २०७७

कोरोना महामारीपछि पहिलो टी–२० फ्रेन्चाइज लिग क्रिकेटको रुपमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) हुँदैछ । आठौं संस्करणको सीपीएल यसअघि भन्दा फरक रहनेछ ।
टी–२० क्रिकेटका किङ मानिने क्रिस गेल यस पटक सीपीएलमा हुने छैनन् । कोरोना महामारीले गर्दा खेल बन्द रंगशालामा हुनेछ । अर्थात् खेल हेर्न कुनै दर्शक उपस्थित हुने छैनन् । यसै सिजनका लागि जमैकाबाट सेन्ट जोउक्समा अनुबन्धित भएका गेलले परिवारलाई समय दिन भन्दै सीपीएलबाट नाम फिर्ता लिएका हुन् ।
६ टिमले प्रतिस्पर्धा गर्ने सीपीएल अगष्ट १८ देखि सेप्टेम्बर १० सम्ममा ट्रिनिडाड एण्ड टोबागोमा सञ्चालन हुनेछ । कोरोना महामारीलाई मध्यनजर गर्दै यस सिजन एकै देशमा मात्र खेल हुने लागेको हो । खेलहरु ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभल गरी दुई मैदानमा मात्र हुनेछ । २३ दिनसम्म चल्ने लिगमा कूल ३३ खेल हुनेछ ।
लिग चरणका ३० खेलपछि शीर्ष चार स्थानमा रहने टोलीहरुबीच सेमिफाइनल खेल हुनेछ र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ ।
यस सिजनको उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुनेछ । यस्तै अर्को खेल साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबीच बुधबार बिहान नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ ।
लगातार तेस्रो पटक खेल्दै सन्दीप लामिछाने
नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेग स्पिनर सन्दीप लामिछाने भने लगातार तेस्रो पटक सीपीएल खेल्दैछन् । उनी यस सिजन जमैका तल्वाहाजबाट खेल्दैछन् । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस पटक सन्दीप एक करोडभन्दा बढी रकममा जमैकामा अनुबन्धित भएका हुन् ।
जमैकन टिममा अलराउण्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेइट, मुजिव उर रहमान जस्ता खेलाडीहरु छन् ।
सन्दीप सम्मिलित जमैकाले आफ्नो पहिलो खेल बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८