• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

  • रासस

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

चितवन । साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिति न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरु बताउँछन् ।

भरतपुर महानगरपालिका–७ बाट देवघाटमा सङ्क्रान्ति स्नान गर्न आएका मोहिनीप्रसाद खनालले हरेक वर्षको साउने सङ्क्रान्तिमा भीडभाड लाग्ने देवघाटधाम यसपटक सुनसान देखिएको बताए । उनले आज यहाँ भीडभाड नदेखिनुको कारण मानिसमा बाढीपहिरोको डर एवं हालै भएको सिमलताल पहिरोको भय हुनसक्ने आँकलन गरे ।

उनले पहिरोमा परेकाको नदीमा शव भेटिँदा यहाँ आउन भक्तजन डराएको बताए । उनले भने, “यत्रा मान्छेहरु नुहाउन आउने ठाउँमा आज सुनसान छ, धाम अँध्यारो भएको छ ।”

लमजुङ घर भई हाल देवघाटमा बस्दै आएका सूर्यकान्त शर्माले यसपालिको सङ्क्रान्तिमा देवघाट शून्य भएको बताए । उनले अघिल्ला वर्षको सङ्क्रान्तिमा घुइँचो लाग्ने यहाँ आज फाट्टफुट्ट मात्र भक्तजन आएको जानकारी दिए ।

धादिङ घर भई चितवन बसोबास गर्दै आएका गोविन्दप्रसाद तिमिल्सिनाले आफू देवघाटमा प्रायःसधैँजसो आउने गरेको तर लगातारको बाढीपहिरो र सिमलताल घटना भएयता यहाँ आउने भक्तजन शून्य जस्तै भएको बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले गत वर्षको भन्दा यसपटक देवघाटमा भक्तजनको उपस्थिति न्यून रहेको जानकारी दिए । यसवर्ष साउनमा कुनै बोलबम मेला नराखेको भए पनि आगामी सोमबारबाट भक्तजन स्वत स्फूर्त रुपमा आउनसक्ने उनको अनुमान छ । उनले यहाँ आएका भक्तजनलाई देवघाट क्षेत्र विकास समितिले सहजीकरण गर्दै आएको बताए

  • प्रकाशित मिति : साउन १, २०८१, मंगलवार २०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८