• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आहा रारा गोल्डकप घाटामा

  • खबरदाता

आहा रारा गोल्डकप घाटामा

साउन १४, २०७९

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औं संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय रुपैयाँ घाटा लागेको छ।

प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो।

प्रतियोगितामा विभिन्न प्रायोजन तथा संघसंस्थाबाट कूल आम्दानी ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ भएकामा खर्च ६९ लाख ८९ हजार रुपैयाँ भएको क्लबले जनाएको छ।

कोभिड-१९ को संक्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा १२ लाख ६२ हजार आठ सय २६ रुपैयाँ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट पाँच लाख एक हजार रुपैयाँ, सहारा युकेबाट तीन लाख रुपैयाँ र सहारा अष्ट्रेलियाबाट एक लाख रुपैयाँ थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ संकलन उपसमिति संयोजक सुनिल गुरूङले बताए।

प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्सबाट १३ लाख ५१ हजार रुपैयाँ, गण्डकी प्रदेश खेलकुद परिषदबाट पाँच लाख रुपैयाँ, राष्ट्रिय खेलकुद परिषदबाट चार लाख ९२ हजार रुपैयाँसहित विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भएको थियो।

यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा २७ लाख ४८ हजार एक सय ५० रुपैयाँ, टिम प्रोत्साहन खर्च १७ लाख ९३ हजार नौ सय ५० रुपैयाँ, रेफ्री खर्च चार लाख २६ हजार आठ सय ८५ रुपैयाँ, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ।

गत माघ ६ देखि १५ गतेसम्म २० औं संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो।

प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले जित्दा मनाङ मर्स्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो। सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट संकलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।रासस

  • प्रकाशित मिति : साउन १४, २०७९, शनिवार १२:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८