• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालेन्द्रले के साँच्चै बाटो बिराउँदै छन् ?

  • खबरदाता

बालेन्द्रले के साँच्चै बाटो बिराउँदै छन् ?

साउन १३, २०७९

बालेन्द्र शाह काठमाडौँ महानगरको प्रमुख निर्वाचित भएपछि त्यसले देशैभरको राजनीतिलाई तरंगित पारेको थियो । अब आउँदो चुनावमा यस्तै असंगठित शक्तितिर जनमत ढल्किन सक्ने अनुमानसमेत गरिएको थियो ।बालेन्द्र यस्तो समयमा मैदानमा देखापरेका थिए कि मूल धारका एवं परम्परात राजनीतिक शक्तिहरुप्रति चरम वितृष्णा पैदा भइरहेको थियो । काठमाडौँकै हकमा त कांग्रेस र एमालेले उम्मेदवार दिँदा नै यहाँका मतदातालाई हेपेका थिए । यी सबैको प्रतिक्रिया र प्रतिशोधले बालेन्द्रलाई मद्दत पुगेको थियो ।

बालेन्द्रले सुरुवाती दिनमा आफूलाई एजेन्डाकेन्द्रित बनाउन नखोजेका पनि होइनन् । खासगरी फोहोर व्यवस्थापनमा आफू जिम्मेवार रहेको देखाउने प्रयास गरेको उनका गतिविधिमा झल्किन्थ्यो । सम्भवतः उनी अहिले पनि यस मुद्दामा इमानदार भएर नै प्रयास गरिरहेका छन् । विगत १७ वर्षदेखिको समस्या उनले छुमन्तर शैलीमा समाधान गर्नुपर्थ्यो भन्ने अपेक्षा गर्नु पनि अर्घेलो हुन्छ ।

तर कतिपय मामिलामा बालेन्द्र आफ्ना वाचा र विशेषताबाट बरालिएको आभास हुँदै छ । सफा र सुन्दर महानगरको परिकल्पना बेचेर जनमत हासिल गरेका उनले त्यसतर्फ उनले अहिलेसम्म के कदम उठाए भन्ने कुरा खोज्दा पनि भेटिने अवस्था छैन । बरु सहरको विद्रुपीकरण गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग उनले एक शब्द प्रश्न गर्न सकिरहेका छैनन् । तार भूमिगत गर्ने नाममा महानगरलाई नै धराप बनाएर छाड्दा पनि बालेन्द्रको उपस्थिति कहीँ कतै देखिँदैन ।

परम्परागत शक्तिहरुका लहडी र अनुत्पादक योजनाबाट बालेन्द्रले आफूलाई अलग राख्न सकेका छैनन् । कहिले सालिक निर्माणको विकृतिलाई नै प्रोत्साहन गरेर उनले आफ्नो अलग धारे चरित्रलाई खण्डित गरे भने कहिले आलोचक मिडियामाथि जाइलागेर अनुदार एवं असहिष्णु चरित्र प्रदर्शन गरे ।हुँदाहुँदा अहिले उनी तिनै परम्परागत दलका दिवंगत नेताहरुका नाममा खोलिएका प्रतिष्ठान नामका पसलहरुमा महानगरवासीको कर अन्धाधुन्ध खन्याउन पनि तयार भएका छन् ।

दिवंगत मात्र होइन, जीवित नेताका नाममा पनि प्रतिष्ठान खडा गरी राज्यको स्रोतमाथि आँखा लगाउने काम विगतदेखि नै भइरहेको हो । त्यही विकृत अभ्यासमा मलजल पुग्ने गरी बालेन्द्रले काठमाडौं महानगरपालिकाको ५ करोड बजेट छुट्याएपछि थप आलोचनाको तारो बनेका छन् ।बालेन्द्र अहिले बढी आलोचित हुनुको कारण हो– परम्परागत कार्यशैली र आर्थिक अपव्ययको क्रम उल्टिने अपेक्षाविपरीत पुरातन शैलीकै विकृतिको बोझ उनले पनि उठाउँदै गएका छन् ।

विवरणअनुसार कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नाममा खडा भएको बीपी स्मृति ट्रस्टले २ करोड पाएको छ भने कांग्रेसकै हालीमुहाली रहेको गणेशमान सिंह फाउण्डेसनका नाममा ५० लाख छुट्याइएको छ । त्यस्तै एमाले नेताहरुले चलाउने मदन भण्डारी स्पोर्टस् एकेडेमी र पुष्पलाल स्मृति केन्द्रलाई ५० लाख नै दिइएको छ ।

गणेशमान सिंह प्रतिष्ठानले नै बनाउन लागेको भवनका लागि फर्निचर किन्न भनेर छुट्टै २५ लाख बजेट दिने भनिएको छ । यस्तै फर्निचर तथा फिक्स्चर्स शीर्षकमा २५ लाख अनुदान दिने उल्लेख छ ।सरकारसँग जग्गा मागेर तुल्सीलाल स्मृति प्रतिष्ठानलाई घर बनाएको एमालेले अहिले त्यही भवनलाई पार्टी कार्यालय बनाएको छ । झलनाथ खनालले त आफ्नै नाममा प्रतिष्ठान खोलेर सर्प पाल्नका लागि ७२ करोड रुपैयाँ राज्यकोषबाट लिए ।

यी प्रतिष्ठानहरुले प्रतिष्ठित नेताहरुको यश र कीर्तिको संवर्धन र संरक्षण गरेका भए त राज्यले त्यसमा लगानी गर्नु अन्यथा हुन्थेन । त्यस्तै ठूलो रोजगारी सिर्जना वा उद्यमशीलता बढाउने भए पनि एक हदसम्म औचित्यपूर्ण नै मान्न सकिन्थ्यो । तर यस्ता प्रतिष्ठान पार्टीका गुटको पृष्ठपोषण गर्न केन्द्रित छन् । यसमा परिचालन हुने ठूलो रकम पार्टी र कार्यकर्ताले दुरुपयोग गरेका हुन्छन् ।

आर्थिक वर्ष २०७५ सालमा त्यस्ता प्रतिष्ठानलाई संस्कृति मन्त्रालयले ५५ करोड बाँड्दा निकै ठूलो विरोध भएको थियो । जनस्तरबाट विरोध भएपछि संघ सरकारलाई यस्तो रकम कटौती गर्न दबाब परिरहेका बेला प्रदेश र स्थानीय तहले त्यही बाटो पछ्याएका छन् । चालु आर्थिक वर्षमा प्रदेशहरूले मात्रै आधा अर्ब बजेट दिवंगत नेताका नामका प्रतिष्ठानलाई छुट्टयाएका छन् भने काठमाडौँ महानगर प्रमुख साह पनि त्यही लहरमा उभिएका छन् । जुन विडम्बनापूर्ण छ ।

राजनीतिक दल र तिनका नेताले जीवित छँदा त पहुँचको दुरुपयोग गरिरहेकै छन् । दिवंगत नेताका नाममा संस्था खोलेर पनि जनताले तिरको कर आफ्नै पोल्टामा पार्न छाडेका छैनन् । हुँदाहुँदा यस्तो प्रवृत्तिको विरोध गरेर पदमा पुगेकाले समेत उही शैली पछ्याएर परिवर्तनको अपेक्षामा नराम्रोसँग प्रहार मात्र गरिदिएका छैनन्, अर्को चुनाव नआउँदै बालेन्द्र नामको विम्ब आफैले भत्काउने जमर्को पनि गरेका छन् ।

  • प्रकाशित मिति : साउन १३, २०७९, शुक्रवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८