• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुनाव घोषणा गर्न कसले रोक्यो देउवालाई ?

  • खबरदाता

चुनाव घोषणा गर्न कसले रोक्यो देउवालाई ?

साउन  ११, २०७९

काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्न निरन्तर दबाब दिइरहेको छ । मंगलबार मात्र पनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन नै गरी मंसिर ४ को मिति घोषणा गर्नेमा आशावादी रहेको भन्दै कूटनीतिक अभिव्यक्ति दिएर सरकारको ध्यानाकर्षण गराए । यसअघि स्थानीय तहको निर्वाचन घोषणाका लागि पनि उनले यसैगरी अनेक उपायबाट सरकारलाई दबाब दिँदै वैशाखभित्रै चुनाव गराउन बाध्य पारेका थिए ।

प्रधानमन्त्री देउवाले मंसिर ५ भन्दा पर नजाने गरी मिति घोषणा गर्ने वचन पनि दिएका थिए । त्यही मितिमा चुनाव गर्ने हो भने १ सय २० दिनको सीमा घर्किइसकेको छ । तर सत्ता गठबन्धनको बैठक बस्दा अन्य राजनीतिक विषयमा कुराकानी हुन्छन् तर निर्वाचन घोषणाबारे छलफलै भएको छैन । बरु निर्वाचन नै पर सार्ने चलखेलमा गठबन्धनका दलहरु लागिपरेका छन् ।

सत्ताको बागडोर सम्हालिहरेको कांग्रेस पनि जोखना हेरिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी केन्द्रका नाममा तेस्रो ध्रुव खडा गर्ने चाल चलेपछि एक्लै चुनावमा जान कांग्रेस डराएको छ । स्थानीय चुनावमा गठबन्धनको विरोध गर्ने धनराज गुरुङ र गगन थापादेखि विश्वप्रकाश शर्माहरु पनि अहिले गठबन्धन जोगाउन हारगुहार गरिरहेका छन् । तर, माओवादी र अरु घटकलाई धेरै सिट दिए संसदमा आफ्नो पकड गुम्ने, कम सिट दिए गठबन्धन नै भाँडिने भयले कांग्रेस आक्रान्त छ । भन्नलाई चाहिँ कांग्रेस नेताहरु नागरिकता विधेयक, संघीय निजामती कानुन, संवैधानिक परिषद् र सत्य निरुपण तथा बेपत्ता आयोगलगायत निर्वाचनलाई असर पार्ने विधेयक टुंगोमा पुर्‍याउने प्रयास भइरहेकाले चुनाव घोषणामा ढिलाइ भएको भनिरहेका छन् ।

 

  • प्रकाशित मिति : साउन ११, २०७९, बुधवार ०५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८