असार ५, २०७९
चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन्। हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन।
निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन्। तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो। दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो।
निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ। निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ। झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले जानकारी दिए। कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो।रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८