• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पदमपुर- भोजाड सडक खण्डको बिजोग : कसको होला दोष ?

  • खबरदाता

पदमपुर- भोजाड सडक खण्डको बिजोग : कसको होला दोष ?

असार १,२०७९

 

चितवन । चितवनको भरतपुर र कालिका जोड्ने मुख्य सडक पदमपुर भोजाड खण्डको सुधार नहुनुमा दुवै स्थानीय तहले दोषारोपण गर्न थालेका छन।

वर्षौँदेखि खाल्डाखुल्डी सहितको सडकमा यात्रा गर्नुपरेको गुनासो बढीरहेको समाचार प्रकाशमा आउन थालेपछि दुवै पालिकाले आफ्नो क्षेत्रमा राम्रो रहेको तर अर्को स्थानीय तहको क्षेत्रमा सडक बिग्रीएको बताएका हुन् । यद्यपी दुवै स्थानीय तहले सडक मर्मतको ठेक्का पाएको ठेकेदारले काम नगरेको र स्थानीय तहवीच प्रभावकारी समन्वय नहुँदा समस्या भइरहेको बताएका हुन् ।

तीव्र आलोचना र गुनासो पछि अहिले ठेकेदारलाई ताकेता गरेर मर्मत गर्न भनिएको उनीहरुको भनाई छ । कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले सडक मर्मतमा आफूले पूर्णरुपमा जानकार रही ठेकेदारलाई भनिसकेको तर महानगरले समन्वय नगर्दा समस्या भएको बताए । पहिलानै ठेक्का लगाएको र काम नगर्दा समस्या भएर पछि सम्पर्कमा ल्याएर काम थालिसकेको उनले बताए । जंगलको बाटो पूर्वाधारबाट १७० मिटर सडक ढलान गर्न ठेक्का लगाइएको तर ठेकेदारले ढिलासुस्ती गर्दा समस्या भएको बताउँदै अहिले सम्पर्कमा ल्याएर काम थाल्न भनिसकेको उनको भनाइ थियो । महानगरको क्षेत्र समेत भएकाले समन्वय नहुँदा समस्या र खाल्डाखुल्डी पुरी सडक राम्रो गराउन पहल गरिरहेको उनको भनाइ थियो । पुराना ठेक्कापट्टामा भएको ढिलासुस्तीलाई चाँडै काम सक्न भनेको र आफूहरु आएको करिव १५ दिन बढी भएको भन्दै ठेकेदारहरुलाई सम्पर्क गरेर काम गर्न भनिरहेको उनको भनाई छ ।

यता भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरको भाग कालोपत्रे भइसकेको बताउँदै कालिकातर्फको भागमा खाल्डाखुल्डी रहेको बताए । सर्वसाधारणलाई कठिन भइसकेपछि कालिकाकाले समाधान गर्नुपर्ने हो भन्दै उनले महानगरलेपनि सहयोग गर्ने बताए । प्रदेशसँग समन्वय गरेर यो सडकमा बजेट पार्नुपर्ने बताउँदै दीर्घकालिन समाधानमा महानगरले नयाँ बजेटमा पारेर काम गर्ने सुवेदीको भनाई थियो । “बढी जिम्मेवारी कालिकाको हो । महानगरको त नयाँ बजेट आउनासाथ काम भइहाल्छ । हाम्रोमा समस्या छैन । कालिकाको सीमानामा हामी प्रवेश गर्न पाइएन । त्यसैले कालिकाले पनि समन्व्य गर्नुपर्यो । महानगरमा त नगरसभाले बजेट विनियोजन गरेर सडक बन्छ । ” सुवेदीले थपे,“मर्मतको प्याकेजमै परेकाले ठेकेदारलाई चाँडै सम्पर्कमा ल्याएर काम थाल्छौँ । ” मेयरले ठेकेदारहरुलाई बोलाएर काम चाँडै सक्न भनिसकेको बताउँदै सामाजिक संजालमा आइरहेको गुनासोप्रति पनि ध्यान दिइरहेको उनको भनाई थियो ।

  • प्रकाशित मिति : असार १, २०७९, बुधवार ०८:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८