बैशाख ३,२०७९
चितवन – जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत चुजी आयल मिल्स कम्पनीले चितवनमा तेल उद्योगको सर्वेक्षण अध्ययन सुरु गर्ने भएको छ ।
जाइकाले खानेतेल उत्पादनको अवस्थाबारे सर्भे गर्ने भएको छ । सर्भेका लागि जापानको चुजी आयल मिल्स कम्पनीका जनरल म्यानेजर सुजुकी हिदेमासा, अनुसन्धानकर्ताहरु माचुदा थेचु, थाकायामा युमि, आवे मासाहिरो लगायतको टोली चितवन आइपुगेको छ ।
जनरल म्यानेजर सुजुकी हिदेमासाले चितवनमा अन्तर्राष्ट्रिय स्तरको तेल उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन कार्य सुरु हुन लागेको बताए । “खानेतेल उद्योगका लागि चितवनमा उत्पादन, सम्भावनाको अवस्था के छ भनेर १ वर्षसम्म अध्ययन गर्नेछौँ”, उनले भने, “कुन क्षमताको उद्योग बनाउने सर्भेपछि एकिन हुनेछ ।” २०१९ मा पहिलो पटक आएको जापानी टोली कोभिड महामारीका कारण ढिलो गरी चितवन आएको हो । सन् २०२० फेब्रुअरीदेखि सर्भेको काम गर्ने तयारी भैरहेका बेला कोभिड–१९ महामारीले सर्भेको काम रोकिन पुगेको थियो ।
एसडिजिएस मोडेल फर्मुलेसन सर्भेका लागि चितवन आएको टोलीले चितवनमा खाने तेल उद्योग स्थापनाका लागि वस्तुस्थिति अध्ययन गर्नेछ । सर्भेका संयोजक राजनकुमार पौडेलका अनुसार विभिन्न चरणमा हुने सर्भेको रिपोर्ट पछि चितवनमा अन्तर्राष्ट्रिय स्तरको तेल उद्योग स्थापना हुने बताए ।
तोरी, भटमास, मकै, माछा, अदुवा, लसुन लगायतको तेल, जुस, जनवारको दाना लगायतका २० प्रकारका उत्पादन गर्ने गरी उद्योग खोल्ने लक्ष्य राखिएको छ । “किसानलाई पनि प्रोत्साहन हुनेछ, बजारीकरणमा सहज हुनेछ”, उनले भने , “सर्भेपछि आवश्यकता अनुसारको उद्योग स्थापनाको लागि पहल गर्नेछौँ ।” जापानी उच्चस्तरको प्रविधिमा आधरित उद्योगबाट स्वदेश तथा विदेशमा उत्पादनलाई बजारीकरण गर्न सकिने बताउनुभयो । एसिया र युरोपका २८ देशमा चुजी आयल मिल्स कम्पनीका उद्योगहरु छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८