माघ २३,२०७८
चितवनमा कोरोना भाइरसको सङ्क्रमण दर ओरालो लाग्दै गएको छ ।
माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको हो । सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार माघ ६ गते चितवनमा कूल परीक्षण गरिएकामध्ये ५५ प्रतिशतमा रहेको सङ्क्रमण माघ २२ गते आइपुग्दा १५ प्रतिशत रहेको छ । माघ ६ गते ८८६ जनाको परीक्षण गर्दा ४८८ जनामा संक्रमण देखिएको थियो । माघ २१ गते शुक्रबार ४३१ जनाको परिक्षणमा ६६ जनामा सङ्क्रमण पुष्टि भयो ।
कोरोना संक्रमणदर केहि मात्रामा घटेपनि जोखिमको अवस्था उच्च नै रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीे बताउँछन् । चितवनमा अहिले कोरोना निको हुने दर ८७ प्रतिशत पुगेको छ । सबभन्दा धेरै सङ्क्रमण माघ ८ गते १२७१ को परिक्षण गर्दा ५८३ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन सङ्क्रमणको दर ५३ प्रतिशत रहेको थियो । सङ्क्रमण दर माघ १५ गतेदेखि ओरालो लागेको जस्तो देखिएपनि ३० प्रतिशत सेरोफेरोमा संक्रमण दर रहनु अझै पनि उच्च जोखिमकौ संकेत रहेको प्रमुख तिवारीको भनाइ छ ।
माघ १५ गते कूल परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण दर रहेको छ । माघ १६ गते २८.७७ प्रतिशत, माघ १७ गते ३५,९७ प्रतिशत, माघ १८ गते ४८,९७ प्रतिशत, माघ १९ ११.९८ प्रतिशत, माघ २० गते २३.६४ प्रतिशत, माघ २१ गते २४ प्रतिशतमा संक्रमणदर देखिएको छ ।
चितवनमा कोरोना संक्रमणको जोखिमका कारण विद्यालयहरु भौतिक रुपमा माघ मसान्तसम्मका लागि बन्द रहेका छन् । कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले केहि दिनअघि आदेश जारी गर्दै माघ मसान्तसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप भौतिक उपस्थितिमा सञ्चालन रोक लगाएको छ । भर्चुअल वा वैकल्पिक विधिहरू अपनाई सञ्चालन गर्न आग्रह गरेको छ।
भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालन गर्न बन्देज छन् । सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम साल माघ मसान्तसम्म सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।
यद्यपी कोरोना जोखिमलाई बेवास्ता गर्दै स्वास्थ्य मापदण्डा विधीहरु उल्लङघन गर्दै मानिसहरु भीडभाडजन्य क्रियाकलापहरु गरिरहेकै देखिन्छ । चितवनमा हाल कोरोनाको संक्रिय संक्रमितको संख्या ३,४४३ रहेको छ । ती मध्ये होम आइसोलेसनमा ३,४०६ र संस्थागत आइसोलेसनमा ३७ जना संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीका अनुसार संक्रिय संक्रमितको सख्या ५ सय भन्दा कम र संक्रमणदर ५ प्रतिशतमा झरेपछि बल्ल जोखिमको अवस्था कम रहने बताउँछन् ।
चितवनका अस्पतालमा हाल ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एचडियुमा ४९ र आइसियुमा १० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालका कोभिड व्यवस्थापन संयोजक फिजिसियन डा. प्रमोद पौडेलका अनुसार केहिदिनयता कोरोना संक्रमणदर ओरालो लागेपनि अस्पतालमा आउने बिरामीको संख्यामा भने कमी नआएको बताउँछन् ।‘पिसीआर परिक्षण दर पनि घटेको छ । संत्रमितको संख्या पहिलको भन्दा पछिल्लो समय घटेर ३० देखि ४० प्रतिशतसम्ममा देखिएको छ तर अस्पतालमा अहिले जटिल खालका बिरामी भर्ना हुने बढेको देखिन्छ ’ संयोजक डा.पौडेलले भने,‘ संक्रमित मध्ये दिर्घ रोगीमा जटिल समस्या देखिएको छ ।’ अस्पतालमा अन्य जिल्लाबाट पनि उपचार गर्न आउने भएकाले बिरामीको चाप नघटेका उनले बताए । अहिले भरतपुर अस्पतालमा ३० जना एचडियु र ६ जना आइसियुमा उपचाररत रहेको डा, पौडेलले जानकारी दिए ।
चितवनमा कोरोना संक्रमणदर केहिमात्रामा ओरालो लागेपनि जोखिमको अवस्था कायामै रहेकाले स्वास्थ्य मापदण्ड पालनामा हेलचक्रयाई गर्न नहुँने डा। पौडेलको भनाई छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८